फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशीसामु दर्जन जलविद्युत् आयोजना

(GMT+08:00) 2019-03-14 16:12:26
नेपाल सरकारले चैतको दोस्रो साता गर्न लागेको लगानी सम्मेलनमा १२ वटा जलविद्युत् अयोजनामा लगानी गर्न आह्वान गरिने भएको छ। आगामी चैत १५ र १६ गते हुने सम्मेलनमा सरकार मातहतको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेका ६ र निजी क्षेत्रबाट निर्माण हुने त्यत्तिकै संख्याका जलविद्युत् आयोजना निर्माण गर्न विदेशी लगानीकर्तालाई प्रस्ताव गरिने भएको छ।

सरकार मातहत निर्माण हुने पश्चिम सेती, तमोर, सुनकोसी–२, सुनकोसी–३ लगायत आयोजना छन् भने निजी क्षेत्रबाट निर्माण हुन लागेकामा त्रिशूली गल्छी, माथिल्लो चमेलिया लगायत आयोजना भएको ऊर्जा मन्त्रालयले जनाएको नागरिकन्यूजले लेखेको छ।

लगानी सम्मेलनको आयोजक लगानी बोर्डले भने अहिलेसम्म कुनकुन आयोजना निर्माणमा विदेशी लगानी आह्वान गर्ने भन्ने अहिलेसम्म सार्वजनिक गरेको छैन।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले लगानी सम्मेलनमा प्रस्तुत गर्न लागेका ४० परियोजनामध्ये १२ वटा जलविद्युत् आयोजना भएको बताएका छन्। विद्युत् विकास विभागले बुधबार आयोजना गरेको एक छलफल कार्यक्रममा मन्त्री पुनले आगामी दशकलाई ऊर्जा दशक घोषणा गरिएको र उक्त घोषणा कार्यान्वयनमा ल्याउन विदेशी लगानीकर्तालाई आह्वान गर्न लागिएको बताए। त्यसका लागि जति बिजुली उत्पादन भए पनि किन्ने उनको भनाइ थियो।

ऊर्जामन्त्री पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण बिजुली सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन्। निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने (टेक अर पे)को पिपिएको सीमा सकिएको सार्वजनिक भइरहेको बेला उनले विद्युत् बिक्रीको बजार सरकारले खोज्ने भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका हुन्। आगामी लगानी सम्मेलनमा पनि यही प्रतिबद्धता व्यक्त गर्ने भएका छन्।

जानकारी तथा लेखहरु