फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार घाटा बढ्यो

(GMT+08:00) 2019-03-16 16:13:50
चालू आर्थिक वर्षको सात महीनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा बढेर रु सात खर्ब ८० अर्ब १७ करोड पुगेको नागरिक दैनिकले लेखेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ। सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर रु आठ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो।

भारतबाट भएको आयात २४ दशमलव आठ प्रतिशत, चीनबाट ३६ दशमलव छ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३ दुई प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थ, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुको आयात घटेको छ।

बैंकका अनुसार चालू आवको सात महीनामा कूल वस्तु निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ५३ अर्ब आठ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो।

यस्तै भारततर्फ २१ दशमलव एक प्रतिशत र अन्य मुलुकतर्फ एक दशमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१ दशमलव एक प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात घटेको छ।

निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ। त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

जानकारी तथा लेखहरु