फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साढे १ वर्षभित्र नेपालको बिजुली उत्पादन दोब्बर

(GMT+08:00) 2019-03-18 16:15:42

आगामी साढे ३ वर्षमा नेपालले करिब २४ सय मेगावाट थप बिजुली उत्पादन गर्ने भएको छ । हाल नेपालसँग १ हजार मेगावाटको हाराहारीमा मात्रै छ। ऊर्जा मन्त्रालयका अनुसार निर्माण सुरु भएका आयोजना समयमै सकिए आगामी डेढ वर्षभित्रै नेपालको विजुली उत्पादन क्षमता दोब्बर हुनेछ। चालु आर्थिक वर्ष २०७५/७६ भित्रै २ सय ८७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिनेछन्। विद्युत प्राधिकरणले निर्माण गरिरहेका र निजी क्षेत्रबाट बनिरहेका गरी २० वटा आयोजनाले आगामी साउन अगावै उत्पादन थाल्ने ऊर्जा मन्त्रालयको आँकलन रहेको अनलाइनखबरले लेखेको छ।

थाहा भएअनुसार प्राधिकरणको लगानीमा बनिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री 'ए' आयोजनाको निर्माणको काम सकिएको छ। २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ। प्राधिकरणको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजना पनि परीक्षण उत्पादन थाल्ने चरणमा छ। पाँचथरको काबेली बी–१ आयोजना पनि यसैवर्ष निर्माण भएर सञ्चालनमा आउने अपेक्षा छ। यो वर्ष सिन्धुपाल्चोकको माथिल्लो चाुक 'ए' आयोजनाले पनि उत्पादन थाल्ने अपेक्षा छ।यस्तै पाँचथरमा निर्माण भइरहेको तल्लो हेवा खोला आयोजना पनि यसैवर्ष राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना छ। कास्कीमा हिमालयन हाइड्रोपारले निर्माण गरिरहेको १२ मेगावाटको नमार्जुन मादी आयोजनाले पनि यसैवर्ष पूर्णता पाउनेछ।

यसबाहेक ताप्लेजुङमा बनिरहेको इवा खोला जलविद्युत आयोजनाबाट पनि यसैवर्ष विजुली सुरु हुनेछ। कास्की र लमजुङको सीमा क्षेत्रमा बनेको ८.८ मेगावाटको रुदीखोला 'ए' आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ। रुदी 'बी'ले पनि यसैवर्षबाट उत्पादन थाल्नेछ। यो वर्ष रामेछापमा निर्माणाधीन माथिल्लो खिम्ति–२ आयोजनाले पनि उत्पादन थाल्नेछ। रसुवाको माथिल्लो मैलुङ ए आयोजनाबाट ६.४ मेगावाट बिजुली पनि यसैवर्ष राष्ट्रिय ग्रीडमा थपिने ऊर्जा मन्त्रालयले जनाएको छ। कास्कीको विजयपुरखोला–२ (४.५ मेगावाट), दोलखाको घट्टेखोला (५ मेगावाट), डोटीको कपालीगाड (३.३ मेगावाट), म्याग्दीको घलेम्दीखोला (५ मेगावाट) र सिन्धुपाल्चोकको गेलुनखोला (३.२ मेगावाट)ले पनि यसैवर्ष पूर्णता पाउनेछन्।

यी आयोजनाहरुको प्रगति अवस्था हेरेर ऊर्जा मन्त्रालयले यसैवर्ष राष्ट्रिय प्रसारणमा जोड्ने गरी तयारी भइरहेको बताएको छ। मन्त्रालयका अनुसार आगामी आर्थिक २०७६/७७ वर्षमा मात्रै ९ सय ८२ मेगावाट क्षमताका आयोजनाबाट विजुली उत्पादन सुरु हुनेछ । आगामी वर्ष ४५६ मेगावाट विजुलीको उत्पादन सुरु हुनेछ। त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि आगामी वर्षबाटै सञ्चालनमा ल्याउने लक्ष्य छ । ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको सान्जेन, मस्ट्री खोलाको ४२ मेगावाट, ४० मेगावाटको खानी खोला–१, अपर बलेफी एको ३६ मेगावाट बिजुली पनि आगामी वर्ष नै राष्ट्रिय प्रसारणलाइनमा थपिने छ। खानीखोलाबाट ३० मेगावाट, दोर्दीखोलाबाट २७ मेगावाट, अपर दोर्दी 'ए'बाट २५ मेगावाट, सिंगटीखोलाबाट १६ मेगावाट, अपर सान्जेनबाट १४.८ मेगावाट र अपर खिम्तीबाट १२ मेगावाट विजलीको उत्पादन पनि आगामी आर्थिक वर्षबाटै सुरु हुनेछ। आगामी वर्षबाट नेपालले वर्षायाममा ठूलो परिमाणमा विजुली 'बैंकिङ' गर्न सक्ने नेपाल विद्युत प्राधिकरण्को दावी छ । आगामी वर्ष नेपालको विसली उत्पादनका लागि कोसेढुंगा बन्नेछ, किनभने हाल उत्पादनमा रहेको विजुलीको क्षमता बराबरकै विजुली राष्ट्रिय प्रसारणमा थपिनेछ।

जानकारी तथा लेखहरु