फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब नेपालको जनसंख्या ३ करोड ३ लाख पुग्ने प्रक्षेपण

(GMT+08:00) 2019-03-21 19:50:03

नेपालमा हरेक १० वर्षमा जनगणना हुन्छ। पछिल्लो पटक २०६८ सालमा भएको जनगणना अद्यावधिक गर्ने समय नजिकिँदै गरेका बेला केन्द्रीय तथ्यांक विभागले नेपालको नयाँ जनसंख्या प्रक्षेपण गरेको छ। आगामी जनगणना २०७८ असार ८ गतेसम्म सम्पन्न गर्नेगरी तयारी भइरहेको छ।

असार ८ गतेलाई राष्ट्रिय जनसंख्या दिवसका रूपमा मनाइँदै आएको छ। विभागको जनसंख्या प्रक्षेपण बोर्डका अनुसार सोमबारसम्मको जनसंख्या २ करोड ९५ लाख ६ हजार ३४५ पुगेको छ। प्रक्षेपण बोर्डले नेपालमा दैनिक १ हजार ६४ देखि १ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउने गरेको छ।

यसअनुसार विभागले आगामी २०७८ असार ८ गते नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ। विभागका निर्देशक शंकरलाल श्रेष्ठका अनुसार जन्मदर, मृत्युदर र बसाइँसराइका आधारमा जनसंख्या प्रक्षेपण गर्ने गरिएकाले यसमा घटबढ हुन सक्छ। विभागको प्रक्षेपणले आगामी दुई वर्षमा पुरुषकोभन्दा महिलाको जनसंख्या झण्डै १० लाख बढी पुग्ने देखाएको छ।

विभागका निर्देशक श्रेष्ठका अनुसार रोजगारी र अध्ययनका लागि महिलाको तुलनामा पुरुषहरू बढी विदेशिने गरेका छन्।यस्तै महिलाको मृत्युदर पनि कम छ भने औषत आयु पनि बढी छ। त्यसैले महिलाको जनसंख्या बढी भएको नेपालखबर अनलाइनले जनाएको छ। आगामी २०७८ सालको राष्ट्रिय जनगणनामा ट्याब्लेटको प्रयोग गरिने भएको छ। करिब ४० हजार गणकलाई परिचालन गरिने बताइएको छ। विभागका अनुसार सहरी र सूचना प्रविधिको पहुँच भएका क्षेत्रमा ट्याब्लेटको प्रयोग गरिनेछ भने बाँकी स्थानमा कागजी प्रश्नावली भरिनेछ।

जानकारी तथा लेखहरु