फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थलमार्ग हुँदै नेपाल जाने चिनियाँ पर्यटकको संख्यामा वृद्धि

(GMT+08:00) 2019-03-21 16:28:16

स्थलमार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन् । ०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटकले नेपाल प्रवेशका लागि रसुवागढी नाकाको प्रयोग गर्दै आएका छन् ।

भूकम्पपछि यो नाका हुँदै ३६ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले बताउनुभयो। उहाँका अनुसार यसमा तेस्रो मुलुकका पर्यटकको संख्या जोडिएको छैन। चीन सरकारले ०७४ भदौ १४ मा रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका कान्तिपुर अनलाइनले जनाएको छ।

अन्तर्राष्ट्रिय नाका घोषणा भएपछि नेपाल घुम्न आउने तेस्रो मुलुकका पर्यटक पनि वृद्धि हुँदै गएको छ । रसुवागढी नाकाबाट सबै भन्दा धेरै चिनियाँ पर्यटकले नेपाल प्रवेश गर्ने गरेको अध्यागमन कार्यालय रसुवाको तथ्यांकले देखाएको छ। यस नाकाबाट करिब ७० प्रतिशत चिनियाँ पर्यटक नेपाल आउने गरेका छन् ।

सन् २०१६ देखि २०१९ फेब्रुअरी अन्तिमसम्मको तथ्यांक हेर्दा रसुवागढी नाकाबाट चिनियाँ र तेस्रो मुलुकका गरी ५३ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये ३६ हजार ६ सय १३ चिनियाँ पर्यटक रहेका छन् । सोही अवधिमा १६ हजार ४ सय ८६ जना तेस्रो मुलुकका पर्यटक नेपाल आएको कार्यालयसँग तथ्यांक छ ।

सन् २०१६ मा ४ हजार ९ सय ६१, सन् २०१७ मा १७ हजार ६ सय २०, सन् २०१८ मा १२ हजार ८ सय ११ र सन् २०१९ को २ महिनामा १ हजार २ सय ८२ चिनियाँ पर्यटक नेपाल आएको अध्यागमन कार्यालय रसुवागढीले बताएको छ ।

'रसुवागढी नाकाबाट चिनियाँ पर्यटक आउने क्रम बढेको छ,' घर्तीले भन्नुभयो, 'नेपालतर्फ भौतिक पूर्वाधार र प्रविधि प्रयोग हुन नसक्दा केही समस्या छ ।'

रसुवागढी नाकाबाट आउने पर्यटकलाई मध्यनजर गर्दै कार्यालयले डिजिटल डिस्प्ले बोर्ड सञ्चालनमा ल्याएको छ । भिसाका लागि अनलाइन फर्म (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए । पर्यटकका लागि तातो तथा चिसो पानीको र फ्री वाइफाईको समेत व्यवस्था गरिएको छ ।

नेपाल घुम्नका लागि चिनियाँ पर्यटकले एक वर्षमा १ सय ५० दिनसम्मको फ्री भिसा पाउँदै आएका छन् । नेपाल घुम्न आउने धेरैजसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकहरूले ल्हासा, क्वाङ्चौबाटै भिसा लगाएर आउने गरेका छन् ।

करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् । नेपाल आउने अधिकांश चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । रसुवागढी नाकालाई चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरे पनि नेपालतर्फ अझै पनि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन ।

जानकारी तथा लेखहरु