फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेलास्थलमै ३८५ जनालाई रोजगारी

(GMT+08:00) 2019-03-21 16:29:15

पूर्वी नेपालको सुनसरीको दुहबीमा आयोजित वृत्ति परामर्श तथा रोजगार मेलास्थलबाटै ३ सय ८५ युवाले रोजगारी पाएका छन्। रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एकैठाउँ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले आयोजना गरेको मेलामा ९ सय ४५ जनाले फारम भरेका थिए। जसमा ३८५ जनालाई मेलास्थलबाटै रोजगारीको ग्यारेन्टी भएको संगठनका उपाध्यक्ष राकेश सुरानाले बताउनुभयो।

अहिले मुलुकमा सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी नै हो। वैदेशिक रोजगारीका कारण हरेक दिन युवा पलायन हुने क्रम बढ्दो छ। वैदेशिक रोजगारीका कारण दक्ष र अर्धदक्ष कामदारको अभाव झेल्दै आएका छन् उद्योगीहरूले। मोरङ–सुनसरी औद्योगिक क्षेत्रअन्तर्गत सुनसरीको सोनापुरस्थित गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टिफाइवरले मात्रै २४० जनालाई रोजगारी दिएको छ। "यो मेला अत्यन्तै फलदायी भएको छ," संगठनका अध्यक्ष भीम घिमिरेले भन्नुभयो। रिलायन्स स्पेरिङ, एवी ग्रुप, फुजिमा, वागमती, पायोनियर केवल, रिलायन्स थर्मोपोलीलगायतले पनि रोजगारी दिएका छन्। उनीहरूले मेलास्थलमै फारम भरेर अन्तर्वार्ता लिएका थिए।

नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा सञ्चालित ईन्स्योर परियोजनाको सहयोगमा उद्योग संगठनसहित दुहबी नगरपालिका र बूढीगंगा गाउँपालिकाले मेला आयोजना गरेका हुन्।सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख जनालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पुर्याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो।

जानकारी तथा लेखहरु