फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथाको नजीकसम्म सडक नबनाउन सुझाव

(GMT+08:00) 2019-03-22 16:44:18

चालू आर्थिक वर्षमा सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ। गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्याउने गाउँपालिकाले जनाएको छ। जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ।

गोरखापत्र अनलाइनका अनुसार पर्यटकीय हिसाबले विश्वमै चर्चित 'एभरेष्ट रिजन'मा घुम्ने पर्यटकलाई थप आकर्षित गर्न खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्रसहित लुक्लाभन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन्। सडकमार्गलाई लुक्लाभन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाइस्प्रिट ट्रेक्स एण्ड एक्सपिडीसन नेपाल प्रालिका सञ्चालक शिवबहादुर बस्नेतले बताउनुभयो।

उच्च हिमाली क्षेत्रमा जाँदा अधिकांशलाई स्वास्थ्य समस्यासमेत देखिने हुँदा एकैपटक उचाइमा जान उपयुक्त नहुने यस क्षेत्रमा आबद्ध व्यक्तिको भनाइ छ। विसं २०५५ देखि पर्यटन क्षेत्रमा आबद्ध भई 'आइसफल' चिकित्सकको समेत भूमिका निर्वाह गरिसकेका याङ्दा शेर्पाले लुक्लादेखि पदमार्ग शुरु हुँदा 'हाइअल्टिच्युट'को हिसाबले उपयुक्त हुने बताउँछन्। एक्कासि उच्च स्थानमा पुग्दा स्वास्थ्य समस्या देखिन्छ । 'काठमाडौँको तापक्रम र लुक्लाकै तापक्रम धेरै फरक पर्ने हुँदा एक्कासि उच्च क्षेत्रमा पुग्नु राम्रो होइन,' शेर्पाले भन्नुभयो, 'हामी सगरमाथा जाने बाटो बनाउने भए पनि लुक्लाबाट एक्कासि सगरमाथा आधार शिविर हेलिकप्टरमा पुग्यो भने हामीलाई पनि टाउको दुख्नेलगायतका समस्या देखापर्छ।'

त्यहाँको मौसम र पर्यटकको स्वास्थ्यलाई ध्यान दिँदा लुक्लाभन्दा माथि सवारीसाधनमा पुग्नु उपयुक्त नहुने आरोहीको भनाइ छ। हिमशृङ्खलाको दृश्यावलोकनका लागि समेत लुक्लादेखि पैदलयात्रा उपयुक्त हुने हुँदा सडक निर्माणमा सोहीअनुसार ध्यान दिन आवश्यक रहेको सगरमाथा आरोही किताबसिं तामाङको भनाइ छ। सगरमाथा क्षेत्रको साख जोगाउन राज्यले ध्यान दिनुपर्ने आरोही तामाङले बताउनुभयो।

लुक्लादेखि सगरमाथा आधारशिविर पुग्न पर्यटकका लागि सात क्याम्प आवश्यक रहेको छ । लुक्लाबाट शुरु भएको पदयात्रा फाग्दिङ, नाम्चे, तेङ्बोचे, दिङबुचे वा फेरुचे, लुबुचे, गोरप्सेपदेखि आधार शिविर पुग्छ। सगरमाथा आधार शिविरबाट अधिकांश पर्यटक फर्कन्छन् भने केही आरोही सगरमाथाको शिखरतर्फ लाग्छन्।

अधिकांश पर्यटकको रोजाइ सोलुखुम्बुको खुम्बु क्षेत्र पर्छ । जसको मुख्य कारण हो, विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल एवं हिमशृङ्खला। वर्षको दुई 'सिजन'मा विभिन्न राष्ट्रका हजारौं नागरिकले यस क्षेत्रको भ्रमण गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ। सगरमाथा राष्ट्रिय निकुञ्ज, नजिकैबाट सगरमाथा हिमालसहित यहाँको अन्य मनोरम वातावरणको दृश्यावलोकनले अधिकांशको ध्यान तान्ने गरेको छ । विशेषगरी 'स्प्रिङ' र 'विन्टर' सिजनमा पर्यटकको भीड लाग्ने यस क्षेत्रमा मौसम राम्रो हुँदा बाह्रै महीना पर्यटकको चहलपहल हुने गरेको छ।

खुम्बु क्षेत्रका लागि काठमाडौंदेखि हप्ता दिनको पैदलयात्रा या तेञ्जिङ हिलारी विमानस्थल दुई माध्यम रहेको छ। अधिकांश पर्यटकको समय छोटो तर खुम्बु भ्रमणका लागि समय केही लामो भए प्रभावकारी हुने हुँदा हवाईमार्ग अधिकांशको रोजाइमा पर्छ तर, मौसम प्रतिकूल हुँदा हवाईसेवा प्रभावकारी हुँदैन।

जानकारी तथा लेखहरु