फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि देशका २६ स्थानमा पर्यटक प्रहरी चौकी

(GMT+08:00) 2019-03-23 14:44:58

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि देशका विभिन्न २६ स्थानमा पर्यटक प्रहरी बिट स्थापना गरेको छ। भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले सरकारले पर्र्यटक प्रहरीलाई पनि सक्रिय बनाउन लागेको हो। पर्यटन प्रहरीले पछिल्लो समय आफ्ना गतिविधि बढाउँदै लगेको छ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको सो लक्ष्य पूरा गर्न पर्यटक प्रहरीको मुख्य भूमिका रहेको छ। नेपालमा आउने पर्यटकका लागि पर्यटक प्रहरीले सूचना व्यवस्थापन प्रणाली जडान गरि काम गर्दै आएको छ। यो प्रणालीले नेपाल आएका पर्यटक कुन क्षेत्रमा छन् भन्ने विषयमा जानकारी दिन सहयोग पुग्छ।

बिनासूचना पदमार्गमा जाने, केही समस्या हुँदा उद्धारमा ढिलाइका कारण पर्यटकको मृत्यु लगायतका घटना, दुर्घटना बढेपछि पर्यटन विभागको सक्रियतामा पर्यटक सूचना व्यवस्थापना प्रणाली जडान गरिएको हो। नेपाल प्रहरीको कम्युटर निर्देशनालयको समन्वयमा पर्यटक प्रहरीको निगरानीमा रहने गरी उपत्यकाबाहिरका १६ स्थानमा उक्त प्रणाली जडान गरिएको हो।

२०३५ माघ १२ गतेदेखि सुरु भएको पर्यटक प्रहरीमा हाल २२७ जनाको दरबन्दी रहेको छ। काठमाडौं उपत्यकाको बौद्धसहित १० पर्यटकीय स्थानमा ९९ जना पर्यटकीय प्रहरी परिचालन गरिएको छ। त्यस्तै उपत्यका बाहिरका १६ स्थानमा पर्यटक प्रहरी विट स्थापना गरिएका छ भने उक्त स्थानमा २ सय १८ पर्यटक प्रहरी खटिएका छन्। पदयात्राका लागि लाङटाङ, अन्नपूर्ण, सगरमाथा, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा जाने पर्यटकको सूचना सजिलै लिन सकिने गरी उक्त प्रणाली जडान गरिएको हो।

नेपालखबर अनलाइनका अनुसार पर्यटकबारे उचित समयमा सही जानकारी लिन सोलुखुम्बुको लुक्ला, धनुषा, वीरगन्ज, सौराहा, स्याफ्रुबेंसी, पोखरा, बिरेठाँटी, धम्पुस, घान्द्रुक, जोमसोम, चामे, घोरेपानी, लुम्बिनी, बेलैया, काँकडभित्ता र बन्दीपुरमा अस्थाई पर्यटन प्रहरी विटमा उक्त प्रणाली जडान गरिएको छ। पर्यटक प्रहरी नेपाल प्रहरी भए पनि उनीहरूको सेवा सुविधा भने पर्यटन विभागमार्फत दिइँदै आएको छ।

पर्यटक प्रहरी ईकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार केही समयमा नै पर्यटक प्रहरी मोबाइल एप ल्याउने तयारी गरिएको छ। देशभरका विभिन्न पर्यटकीय क्षेत्रमा थप नयाँ ८ पर्यटक प्रहरी बिट स्थापनाको तयारी गरिएको छ।

सूचना व्यवस्थापन प्रणाली जडान भएपछि पदयात्रामा गएका पर्यटकको अवस्था बुझन सजिलो भएको बस्नेत बताउनुहुन्छ। 'विभिन्न जिल्लाको गतिविधि काठमाडौंमै बसेर हेर्न सकिन्छ', उहाँले भन्नुभयो, 'सञ्चारको अभावका कारण कतिपय पर्यटक तत्काल सम्पर्कमा नआउँदा पनि कुन बाटो भएर पदयात्रामा गएको छ भन्ने अभिलेख पर्यटक प्रहरीसँग हुँदा सहज हुन्छ।'

अहिलेसम्म फ्रेन्स भाषा मात्र बोल्ने गरेकोमा हाल पर्यटन प्रहरीले जापानिज, चाइनिज, इटालियन भाषा सिक्दै आएका छन्।

जानकारी तथा लेखहरु