फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचमा रेलवे सेवा जोडिँदा दुवै देशलाई फाइदा हुने

(GMT+08:00) 2019-03-28 13:49:19

नेपालमा जति चिनियाँ रेलको चर्चा चल्छ त्यति नै चीन पनि जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् भन्ने चाहन्छ। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक चाङ चिसिन भन्नुहुन्छ, 'हामी नेपालको दक्षिण भेगसम्म रेलमा जान तयार छौँ।' उहाँले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। 'हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन। दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो', उहाँले भन्नुभयो, 'हामी लगानीको प्रतिफलभन्दा पनि नेपाली जनताले कति फाइदा पाउँछन् भन्नेमा केन्द्रित छौँ।' नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ।

चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अधिकारीले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंकालगायत मुलुकलाई एकअर्कामा जोड्न चीन सक्रिय रहेको बताए। ती अधिकारीले भने, 'सबै मुलुकलाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत रेलले जोड्ने योजना छ।' यी मुलुकबीच सडक सञ्जाल, रेल र हवाई सञ्जाल जोड्न सके विश्वको नेतृत्व एसियाले गर्ने अवधारणा चीनको छ।

चीनले हिमालपारिका मुलुकलाई रेलमार्गमा जोड्ने योजना तीव्र रूपमा अघि बढाएको छ। रेलमार्गसँग जोडिन चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अन्य मुलुकलाई यसअघि नै आग्रह गरिसकेको छ।

'नेपाललाई हामीले रेलमार्फत जोड्न चाहन्छौं। नेपाल पक्षबाट हुने काम र सहकार्य अनि आर्थिक व्यवस्थापन अध्ययनको विषय हो,' अर्का वरिष्ठ चिनियाँ अधिकारीले भने, 'कुनै बेला हिमालपारि रेल लैजाने विषय सोच्न पनि सकिँदैनथ्यो। अहिले त्यो सम्भव भएको छ। हिमालमा रेल कुदिसकेको छ। चीनले त्यो काम गरेर देखाएको छ।' चिनियाँ अधिकारीले हिमालपारि रेल हिमालमाथिबाट लैजाने कि मुनिबाट भन्ने अध्ययनको चरणमै रहेको जानकारी दिए।

'अब प्रविधिले रेल रोक्दैन। रोकिन्छ भने आन्तरिक छलफल, अलमल र लगानीको मोडल नमिल्दा मात्र हो', ती अधिकारीले भने, 'मुलुकको विकासको मुख्य आधार कनेक्टिभिटी हो। त्यो रेल, सडक र हवाई जताबाट भए पनि हुन्छ। तर कुन उपयोगी र महत्त्वपूर्ण छ त्यो बुझ्न जरुरी छ।'

नेपाल, सिंगापुर, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, मंगोलिया र म्यानमारका पत्रकारहरूलाई परराष्ट्र मन्त्रालयमा एसिया मामिलाबारे जानकारी दिँदै चिनियाँ अधिकारीहरूले शान्तिपूर्ण क्षेत्र, विकास, समृद्धि र सहकार्यमा चीन लागिपरेको बताए। चीनले पहिल्याएको विकासको बाटोमा छिमेकीलाई पनि सँगै लिएर अघि बढ्ने सोच बनाएको उनीहरूको भनाइ थियो।

नेपाली राजदूत लीलामणि पौड्यालले रेल मार्गले जोड्ने विषयमा नअलमलिई नेपाल त्यसमा तत्काल अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'हामी जतिसक्दो खुला गरेर कनेक्टिभिटीमा जोडिनुपर्छ। हामीले खर्चको हिसाब मात्र गर्ने होइन, जोड्ने राम्रो आधार के भन्ने पनि ख्याल गर्न जरुरी छ।'

जानकारी तथा लेखहरु