फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरलाई कला नगरमा रुपान्तरण गरिने

(GMT+08:00) 2019-03-28 13:53:04

ललितपुर महानगरपालिकालाई कला नगरमा रूपान्तरण गर्नेगरी दीर्घकालीन योजना थालिएको छ। विश्व क्राफ्ट सिटी काउन्सिलमा ३५ औँ नगरको रूपमा सूचीकृत भएपछि सो काउन्सिलमा सूचीकृत हुने ललितपुर नेपालको पहिलो शहर भएको गोरखापत्र अनलाइनले लेखेको छ। यसलाई कलानगर बनाउने सोच अगाडि ल्याइएको महानगरपालिकाले भनेको छ।

ललितपुर मनपा वडा २६ का वडा अध्यक्ष सुरेश महर्जनको संयोजकत्वमा योजनाको काम सुरुभएको ललितपुर महानगरपालिकाले जनाएको छ। 'प्राचीन कलाको शहरसँगै कलात्मक पेशा अपनाउने शहर भनेर चिनिन्छ,' महर्जनले थप्नुभयो, 'यहाँका पुराना सम्पदा, कलात्मकारिता र पेशागत निरन्तरताको मापदण्ड अनुसार नै यसलाई कलानगर बनाउन थालिएको हो।'

तर बजेट अभावले तत्काल नगर निर्माणमा प्रवेश गर्न समस्या आएको उहाँले बताउनुभयो। अर्को वर्षको सुरुवातसँगै कला नगरको योजनाले गति पाउने उहाँले बताउनुभयो। महर्जनका अनुसार ललितपुरस्थित ललितपुर हस्तकला संघ, नेपाल हस्तकला महासंघ र नेपाल उद्योग बाणिज्य संघमा आवद्ध हस्तकला उत्पादक तथा पेशाकर्मीलाई मात्र सो योजनामा सहभागी गराइनेछ।

प्रस्थरकला, काष्ठकला, सुनचाँदीको कलात्मक कला तथा हस्तकलाका अन्य सामग्री उत्पादन गर्ने मुख्य थलोका रूपमा ललितपुरलाई चिनिन्छ। हस्तकलाको मौलिकतालाई वस्ती विकाससँग जोडेर अगाडि बढाउने योजना रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो।

परम्परागत पेशाका रूपमा हाते सामग्री उत्पादन तथा व्यवसायमा यहाँका अधिकांश नेवार समुदाय संलग्न छन् उहाँले थप्नुभयो, "यहाँबाट विदेशमा निर्यात हुने हस्तकलाको उत्पादन समेत उच्च छ।"

स्थानीय तथा सरोकारवालालाई समितिमा राखेर कला नगरी बनाउने योजनामा काम भइरहेको उहाँले जानकारी दिनुभयो।

हस्तकला नगर घोषणा भएपछि सबै क्षेत्रले ध्यान दिने वातावरण बनेको ललितपुर उद्योग बाणिज्य महासंघका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो। संरक्षणमा पहिले कसैले वास्ता राख्दैन थिए, उहाँले भन्नुभयो, "अब हरेक नागरिकले यो मेरो जिम्मेवारी भन्ने बेला आएको छ।"

गृहकार्य गर्न बाँकी रहे पनि महानगर र सम्बद्ध निकाय मिलेर यसको प्रवद्र्धन गर्ने योजना रहेको महर्जनले सुनाउनुभयो। कला नगरको अवधारणाले लोप हुँदैगएका प्राचीन सीपको संरक्षण गर्न महानगर तत्पर हुने उहाँको भनाइ छ।

ललितपुरका १६ वडा, उद्योग बाणिज्य संघ, महानगरपालिकाको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम अनुसार चैत १३ गतेदेखि कला संस्कृति महोत्सव गरिने महर्जनले जानकारी दिनुभयो।

ललितपुरको महत्व झल्काउने कला, संस्कृतिको प्रदर्शनी पाटन दरबार क्षेत्रमा गरी कला नगरको प्रचार गरिने उहाँले बताउनुभयो। महर्जनका अनुसार एक्लाएक्लै कलात्मक कार्यको प्रवद्र्धन गरिरहेका निजी संस्था पनि यस योजनाले उत्साहित छन्।

चाँदीका सामग्री, गलैचा, पस्मिना लगायतका ललितपुरका उत्पादन निर्यात गर्दै आएको छु, एक्सपर्ट अफ नेपालका सञ्चालक इन्द्रमान महर्जनले भन्नुभयो, "अब त्यसरी पठाउने र लाभ दिने काम सहज हुन्छ।"

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क हेर्ने हो भने नेपालका ४२ थरीका हस्तकलाका उत्पादन विदेश निर्यात हुने गर्छन्।

धातुका मूर्ति तथा साना उत्पादन, पस्मिना, पौभाकला, सुनचाँदीका कलात्मक सिर्जना, ढुङ्गेमूर्ति, काष्ठकला, बाँस तथा अन्य हातेवस्तु, नेपाली कागजका सामग्री, सेरामिक्स, सजावट सामग्री, छालाका वस्तु, उन, हाड तथा प्राकृतिक रेशाजन्य, जडीबुटीजन्य उत्पादन लगायतका सामग्री ८५ देशमा निर्यात हुनेगर्छ।

विदेशी मुद्रा आर्जन गर्ने प्राथमिक स्रोतकारुपमा रहेकाले यसबाट ललितपुरले फाइदा लिन सक्ने महर्जनले बताउनुभयो। विगत २७ वर्षको इतिहास हेर्दा मौलिक संस्कृति सम्पदा संरक्षण गर्न, गरिबी निवारण गर्न, रोजगारी सिर्जना गर्न घरेलु कलात्मक उत्पादनले सघाइरहेको केन्द्रले जनाएको छ।

यस्ता सामग्री ६० को दशकमा नेपालबाट अव्यवस्थित रुपमा बाहिर निर्यात हुनेगथ्र्यो तर ७० को दशकको सुरुवातदेखि भने राज्यको नेतृत्वमा निकासी हुन थालेको हो। पूरै शहरलाई कला नगरी बनाएर कला, संस्कृति, सम्पदाको संरक्षणको योजना आएको यो पहिलो हो उहाँले भन्नुभयो। सन् २०१७ को तथ्याङ्क अनुसार ७७ अर्वको निर्यात सामग्रीको ठूलो हिस्सा कलाजन्य उत्पादन रहेका थिए।

जानकारी तथा लेखहरु