फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भैरहवा विमानस्थलको धावनमार्ग अन्तिम चरणमा

(GMT+08:00) 2019-03-30 13:57:18

भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। चार तहको कालोपत्रे हुने धावनमार्गमा तीन तहको काम सम्पन्न भइसकेको छ। चौथो तह कालोपत्रे गर्ने काम मंगलबारदेखि सुरु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

धावनमार्गको लम्बाइ तीन किलोमिटर छ। धावनमार्गको अन्तिम चरणको कामसँगै ट्याक्सी वे पनि कालोपत्रे गरिने निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो। अन्तिम तह साढे सात सेन्टिमिटर बाक्लो हुनेछ।

'धावनमार्गको अन्तिम तहको कामसँगै ट्याक्सी वे पनि कालोपत्रे गर्छौँ', उहाँले भन्नुभयो, 'कुनै वाधा अवरोध नआए ३० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ।' यो सँगै धावनमार्ग ट्याक्सी वेसगँ जोडिन पुग्छ। धावनमार्ग भनेको विमानस्थलको मेरुदण्ड हो।

धावनमार्ग पूर्ण रूपमा तयार भएपछि आपतकालीन अवस्थामा काठमाडौंमा अवतरण हुन नसक्ने अन्तर्राष्ट्रिय उडानका विमानलाई यहाँ अवतरण गराउन सकिन्छ। अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि 'आईकाओ' बाट प्रमाणपत्र प्राप्तिलगायत सम्पूर्ण कार्य सन् २०१९ भित्र पूरा हुने उहाँले बताउनुभयो।

उहाँले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी जनवरीभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने जानकारी दिनुभयो। तर, त्योभन्दा अघि विमानस्थलमा परीक्षण उडान सम्पन्न गराउने योजना रहेको उहाँले सुनाउनुभयो। 'विमानस्थलको अन्य भौतिक पूर्वाधार निर्माण समानान्तर रूपमा भइरहेको छ, उहाँले भन्नुभयो, 'तोकिएको समयभित्र भौतिक संरचना निर्माण सम्पन्न हुन्छ।'

अहिले विमानस्थलमा धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, पानी ट्यांकी, कन्ट्रोल टावरलगायत काम धमाधाम भइरहेको छ। टर्मिनल भवनको छाना हाल्न बाँकी छ। छाना आइसकेको र केही दिनभित्रै छाना हाल्ने काम सुरु हुने प्रमुख अधिकारीले बताउनुभयो। त्यस्तै टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा छ। विद्युतीय जडान र अन्य काम पनि भइरहेको छ।

सात तलाको कन्ट्रोल टावर निर्माण भइसकेको छ। फिनिसिङ तथा उडान, अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। विमान पार्किङस्थल (एप्रोन) को काम पूरा भइसकेको छ। विमानस्थलको भौतिक संरचना निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो।

कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ लगानीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ। यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो।

यो विमानस्थल 'फोर ई' स्तरको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सबै जहाज यहाँ पनि अवतरण गर्न सक्छन्। यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने हो। दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले 'ह्यान्डल' गर्नेछ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, मधेस आन्दोलन, भूकम्पलगायत कारणले सन् २०१९ जुनसम्म सम्पन्न गर्ने म्याद पाएको छ।

जानकारी तथा लेखहरु