फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उर्जामन्त्रीद्वारा पावर चाइनाका प्रतिनिधिसँग छलफल

(GMT+08:00) 2019-03-31 15:41:27

नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय लगानी सम्मेलनपछि चीन, कोरिया र अष्ट्रियाका लगानीकर्ताहरुसँग फरक फरक भेटवार्ता गर्नुभएको छ। सिंहदरवारस्थित उर्जामन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीका सम्भावना र अवसरबारे पाँच घण्टासम्म छलफल भएको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपालमा लगानी गर्न ईच्छुक कम्पनीका उच्च अधिकारीहरुसँग पाँच घण्टा लामो बैठकमा मन्त्री पुनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। मन्त्रालयले विदेशी लगानीकर्ता उर्जा क्षेत्रमा आवश्यक सहजिकरण गर्ने उहाँको भनाइ थियो।

मन्त्री पुनले पावर चाइनाका अध्यक्ष सोङ तोङसेङसँगको भेटमा जलविद्युत क्षेत्रको लागि आफूले आन्तरिक र बाह्य बजार बनाउने भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। पावर चाईनाले लगानी गर्न चाहे सरकार सहजीकरण गर्न तयार रहेको मन्त्री पुनले आश्वस्त पार्नुभयो।

भेटमा पावर चाइनाका अध्यक्ष सोङले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरेको जानकारी दिनुभयो। पावर चाइना चीनमा उर्जा क्षेत्रमा काम गर्ने कम्पनीहरूको छाता कम्पनी हो।

'तल्लो अरुण, किमाथांका र आँधिखोलाजस्ता परियोजनामा हामी लगानी गर्न चाहन्छौं', सोङले भन्नुभयो, 'त्यतिमात्र होइन, हामी अफ ग्रिड पावरको क्षेत्रमा पनि काम गर्न ईच्छुक छौं।'

सोङले सरकार, सरकारी कम्पनी र नीजि क्षेत्रसँग मिलेर परियोजना निर्माण गर्ने भन्दै त्यसका लागि आफुलाई सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो एक वर्षमा नेपालको उर्जा क्षेत्रमा भएको नीतिगत सुधारको प्रशंसा गर्दै नेपाल दक्षिण एसियाकै उर्जा हव बन्न सक्ने बताउनुभयो।

सहुलियतपूर्ण ऋण, वुट र पीपीपी मोडेलमा नेपालमा काम गर्न ईच्छुक रहेको उहाँले बताउनुभयो। शनिबार नै मन्त्री पुनसँग चाइना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेईगाओले भेटवार्ता गर्नुभयो। भेटमा उपाध्यक्ष वेईगाओले नेपालको प्रशारण लाईनमा लगानी गर्न आफ्नो कम्पनी ईच्छुक रहेको बताउनुभयो।

जवाफमा मन्त्री पुनले उर्जा मन्त्रालयले प्रशारण लाईनको गुरु योजना सार्वजनिक गरेको भन्दै त्यसैअनुसार काम गर्न आग्रह गर्नुभयो। 'हामीले केही समयअघि मात्र प्रशारण लाईनको ४० वर्षे गुरुयोजना सार्वजनिक गरेका छौं, न्यु वुटवल–कैलाली, मैनतारा–त्रिवेणीजस्ता परियोजना पनि हामीसँग छन्, तपाईंहरुको विज्ञता र लगानी यसमा लगाउनुस्, हामी सहयोग गर्न तयार छौं', मन्त्री पुनले भन्नुभयो। मन्त्री पुनले नलगाड र जगदुल्लाजस्ता आयोजनामा पनि लगानीको अवसर रहेको धारणा राख्नुभयो।

माथिल्लो त्रिशुली १ मा लगानी गरिरहेको कोरियन कम्पनी कोरिया साउथ–ईष्ट पावरका प्रतिनिधी र उर्जामन्त्री पुनबीच समेत शनिबार भेटवार्ता भएको छ। भेटमा कम्पनीका प्रतिनिधीले उर्जा मन्त्रालयले गरेको सहजीकरणप्रती धन्यवाद व्यक्त गर्दै परियोजना तोकिएकै समयमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दै अक्टोबरबाट कम्पनीले निर्माण कार्य सुरु गर्ने जनाए।

त्यसैगरी लगानी सम्मेलनकै लागी भारतबाट काठमाडौं आएका अष्ट्रीयन दुतावासका कमर्सियल काउन्सिलर रोवर्ट लकले पनि उर्जामन्त्री पुनसँग भेटवार्ता गर्नुभयो। उहाँले अष्ट्रीयाका उर्जा तथा सिंचाईमन्त्रीले नेपाली समकक्षी पुनलाई दिएको निमन्त्रणापत्र समेत हस्तान्तरण गर्नुभयो।

रोवर्टले मन्त्री पुनसँगको भेटमा अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न खोजेको भन्दै सम्झौताका लागि एमओयुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मन्त्री पुनले शुक्रबार लगानी सम्मेलनपछि म्यानमारका लगानी र वैदेशीक आर्थिक सम्बन्ध हेर्ने मन्त्री यु थाउंग टुन, भारतीय कम्पनी जिएमआरका प्रतिनिधी र एडिबिका उपाध्यक्ष शिसिन चेनसँग भेटवार्ता गर्नुभयो।

म्यानमारका मन्त्री टुनले उर्जा क्षेत्रका अनुभव आदान–प्रदान गर्नुपर्ने भन्दै आगामी जुनमा म्यानमारले आयोजना गर्न लागेको विमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन निम्तो दिनुभएको छ।

एडिबिका उपाध्यक्षले मन्त्री पुनसँगको भेटमा नेपालको उर्जा क्षेत्रमा एडिबिले लगानी गरिरहेको भन्दै आगामी दिनमा लगानी विस्तार गर्न खोजेको जानकारी दिनुभयो। उहाँले ६०० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त आयोजनामा ७० अर्ब लगानी गर्न तयार रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु