फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी सम्मेलनमा ११ परियोजनामा १७ आवेदन

(GMT+08:00) 2019-03-31 15:44:07

हिजो शनिबार काठमाडौंमा सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सरकारले प्रस्तुत गरेका ५० आयोजनामध्ये ११ वटामा लगानी गर्न १७ प्रस्ताव पेस भएका छन्। ११ आयोजनाको अनुमानित लागत हालको विनिमय दरअनुसार १२ खर्ब १२ अर्ब १७ करोड रुपैयाँ रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

यस्तै निजी क्षेत्र, सरकार र दातृ निकायबीच १७ आयोजनामा लगानी गर्ने समझदारी भएको छ। जुन आयोजनाको लागत ५ खर्ब १३ अर्ब रुपैयाँ छ।

अन्य एक लगानीकर्ताले ६ अर्ब ५० करोड रुपैयाँ लगानीमा बल्क टर्मिनल लजिस्टिक पार्क बनाउने प्रस्ताव गरेका छन्। सरकारले प्रस्तुत गरेका आयोजनामा आगामी दिनमा लगानीको प्रस्ताव बढ्ने अनुमान लगानी बोर्डले गरेको छ।

५० आयोजनामा वैशाख पहिलो साता (अप्रिल २०) सम्म लगानीको प्रस्ताव पेस गर्न पाइने लगानी बोर्डले समय तोकेको छ। सरकारले साढे ३० खर्बका ५० आयोजनामा लगानी गर्न आह्वान गरेको थियो।

यस्तै चौधरी ग्रुपले करिब एक खर्बका ४ वटा आयोजनामा लगानी गर्ने समझदारी गरेको छ। ग्रुपले लजिस्टिक पार्क, सोलार र दूरसञ्चार क्षेत्रमा लगानी गर्न समझदारी गरेको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँ लगानी भित्र्याउने सरकारसँग समझदारी भएको छ। प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने प्रतिबद्धतासहित समझदारी भएको हो। सिमरामा बन्ने विशेष आर्थिक क्षेत्र (सेज) मा आईएफसीले लगानी गर्ने भएको छ। सेज निर्माणका लागि आईएफसी, लगानी बोर्ड र सेज प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सिमरामा बन्ने सेजको लागतसहितको अध्ययनका लागि आईएफसीको टोली आगामी हप्ता आउने सेज प्राधिकरणले जनाएको छ। यस्तै लगानी बोर्डको सहजीकरणमा निर्माण सुरु गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्न स्टेट बैंक अफ इन्डिया (एसबीआई) सहित नेपाली नबिल बैंक र एभरेस्ट बैंकले समझदारी गरेका छन्।

सबैभन्दा बढी लगानी ऊर्जामा

लगानी सम्मेलनका क्रममा सबैभन्दा बढी लगानी समझदारी ऊर्जाका लागि भएका छन्। सिन्हुवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसनबीच १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको समझदारी भएको छ।

उक्त आयोजनाका लागि करिब ४२ अर्ब रुपैयाँ लाग्ने बताइएको छ।

यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीले करिब ७२ अर्ब लगानीको घोषणा गरेको छ। अपी पावर कम्पनी र कँडेल ग्रुपअफ कम्पनीबीच नेपालमा ऊर्जा विकासका लागि करिब १ खर्ब ७५ अर्ब बराबरको समझदारी भएको छ।

१८ मेगावाटको सोलार प्लान्ट, ९८ मेगावाटको जलविद्युत् आयोजना र १० मेगावाटको वायु ऊर्जा उत्पादनका लागि समझदारी भएको हो।

डोल्मा फन्डले पनि १५० मेगावाटको सोलार प्लान्ट स्थापनाका लागि ग्रान्ड फन्डबाट करिब २ अर्ब बराबरको लगानी स्वीकृति पाएको घोषणा सम्मेलनका क्रममा गरिएको छ।

यसबाहेक ५ सय ५० मेगावाट क्षमताको अर्को सोलार प्लान्ट स्थापना गर्न एक स्वतन्त्र कम्पनीले प्रस्ताव पेस गरेको छ। यो कम्पनीले गरेको प्रस्ताव र लागत खुलाइएको छैन।

जानकारी तथा लेखहरु