फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली वैज्ञानिकले बनाएको पहिलो भूउपग्रह अमेरिकाबाट प्रक्षेपण हुने

(GMT+08:00) 2019-04-04 13:26:35

नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको नयाँ पत्रिका दैनिकले लेखेको छ।

जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा 'अर्बिटल स्लट'मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो।

यो स्याटेलाइट लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहनेछ । १० सेन्टिमिटर आकारको स्याटेलाइटको तौल १३ सय ग्राम छ । नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी छ । अबको केही दिनमै ग्राउन्ड स्टेसन तयार हुने नास्टले जनाएको छ । स्याटेलाइट प्रक्षेपण भएमा नेपालको समेत आफ्नै स्याटेलाइट हुनेछ । यसबाट नेपाली इन्जिनियरसमेत त्यसका लागि सक्षम रहेको सन्देश विश्वमा फैलने ढकालको भनाइ छ । जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसंघको सहकार्यमा ६ वर्षदेखि बर्डस् कार्यक्रमअन्तर्गत आफ्नै भूउपग्रह नहुने मुलुकको क्षमता विकास गर्न सघाइरहेको छ । नानोको आयु बढीमा तीन वर्ष छ । यसले सामान्य फोटो खिच्ने र ग्राउन्ड स्टेसनसँग सञ्चार गर्ने काम गर्न सक्छ । ग्राउन्ड स्टेसनबाट स्याटेलाइटमा अपलिंक र डाउनलिंक गरिन्छ ।

जानकारी तथा लेखहरु