फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानीकर्ताहरूको रोजाइमा लुम्बिनी

(GMT+08:00) 2019-04-13 15:40:01

नेपालको मध्यक्षेत्रमा अवस्थित हुनु, उद्योग व्यवसाय स्थापना गरे नेपालको पूर्व–पश्चिम उत्तर–दक्षिण चारैतर्फ ढुवानी गर्न सजिलो हुने, सडक, बाटो, पानी जस्ता पूर्वाधारको विकास, भारतबाट कच्चा पदार्थ ल्याउन सिमानाका नजिकै र सहज हुनुले अहिले रूपन्देही अर्थात् लुम्बिनी क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण बढिरहेको छ। स्वदेशी लगानीकर्ताहरू मात्र नभई बाह्य लगानीकर्ताहरू समेत यो क्षेत्रमा लगानी गर्न उत्सुक भइरहेको पाइन्छ ।

यहाँस्थित गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण कार्य अन्तिम चरणमा पुग्नु, निर्यातजन्य उद्योगका रूपमा स्थापित देशकै पहिलो विशेष आर्थिक क्षेत्र (भैरहवा सेज)मा उद्योगहरू स्थापनाका लागि पूर्वाधार बनिरहनु, कृषि तथा पशुपालनतर्फ देशकै अग्रस्थानमा रहनुजस्ता विविध कारण मात्र होइन विश्वमा चर्चित क्षेत्र बुद्धजन्मस्थल लुम्बिनी यही रहनु जस्ता कारणले पनि धेरै संभावनाहरू देखेर लगानीकर्ताहरूको आकर्षण बढेको हो।

नेपाल भारतको सबैभन्दा ठूलो स्थल नाका बेलहिया-सुनौली यही छ। यो नाकाबाट स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी तेस्रो मुलुकका(भारतबाहेक) पर्यटक भित्रिने गरेका छन्।

यी क्षेत्रहरू शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा बुद्धजन्मस्थल लुम्बिनीसहित बुटवल र त्यस वरपरका शहरी तथा शहरउन्मुख ग्रामीण क्षेत्रले समृद्ध लुम्बिनीको खाका बनाइसकेको छ। पूर्वाधार विकास, ठूला सडक सञ्जाल, विद्युतीकरण, सिँचाइ, पिउने पानी, मेडिकल कलेज, अस्पतालहरू, बेलहिया बुटवल सिक्स लेन सडक, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र सेज, कृषि पशुलपालनमा फड्कोलगायत यहाँका समृद्धिका निर्विकल्प जगहरू रहेको भेटिन्छ।

संभावना र समृद्धिको खाकाहरू देखिँदै जाँदा लगानीहकर्ताहरू पनि यस क्षेत्रमा आइरहेका छन् । पर्यटन उद्योगमा समेत लगानी बढिरहेको छ। भैरहवा लुम्बिनी क्षेत्रमा बढी संभावना देखेर होटल पर्यटन व्यवसायमा लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। लुम्बिनीमा अष्ट्रेलियन समूहले पाँचतारे होटल निर्माण सुरु गरेका छन्।

अब १ वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न भई कम्तीमा बौद्धमार्गी रहेका देशमा मात्रै उडान गर्न सके वार्षिक १२ लाख बढी विदेशी पर्यटक भित्र्याउन सकिने र त्यस्का लागि पर्याप्त होटलको आवश्यकता रहेकाले पनि त्यस्मा संभावना बढी देखेर अहिले होटल क्षेत्रमा लगानी बढेको हो र भविष्यमा पनि यो क्षेत्रमा लगानी सुरक्षित र भरपर्दो देखिएको छ।

यो क्षेत्रमा उद्योग र पर्यटन क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण बढिरहेको र भविष्यमा पनि पर्यटन र उद्योग तथा कृषिमा स्वदेशी विदेशी लगानीको संभावना बढने भएकाले पनि सरकारले यसतर्फ ध्यान दिँदै भएका लगानीहरूलाई सुरक्षित र आउने लगानीकर्ताहरूलाई थप प्रोत्साहन हुने वातावरण बनाउन जरुरी रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य (कर्पोरेट) तथा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल बताउनुहुन्छ।

रुपन्देही जिल्लामा स्वदेशी लगानीसँगै भारत, चीन, जापान, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायत देशका व्यवसायी लगानी गरेका छन् । पछिल्लो समय उद्योगमा लगानीका लागि आउने चिनियाँ कम्पनी पनि बढेका छन् । रूपन्देहीमा ठूला उद्योग ३ सय २० वटा रहेको कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु