फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानी गर्न ३१ परियोजनामा २५ खर्बको आवेदन

(GMT+08:00) 2019-04-22 15:49:21

नेपालमा गत महिना सम्पन्न लगानी सम्मेलनपछि ३१ परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताबाट ४८ वटा आवेदन प्राप्त भएका छन्। लगानी बोर्डका अनुसार विभिन्न मुलुकका लगानीकर्ताबाट प्राप्त ती आवेदनको कुल लागत करिब २५ खर्ब रुपैयाँ रहेको नागरिक अनलाइनले लेखेको छ।

लगानी सम्मेलनमा 'सोकेस' गरिएका ७७ वटा परियोजनामध्ये २६ वटामा ४३ वटा आवेदन प्राप्त भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले जानकारी दिनुभयो। त्यस्तै, सोकेसमा समावेश नभएका थप पाँचवटा नयाँ परियोजनामा लगानी गर्ने आवेदनसमेत विदेशी लगानीकर्ताबाट प्राप्त भएका छन्।

हालसम्म प्राप्त आवेदनमध्ये सबैभन्दा बढी यातायात पूर्वाधारका परियोजनामा छन्। लगानी बोर्डका अनुसार यातायाततर्फ नौवटा परियोजनामा २२ वटा आवेदन दर्ता भएका छन्। जसको कुल लागत करिब १६ खर्ब रुपैयाँ हुने उल्लेख छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा बढी ६ वटा आवेदन परेका छन्। त्यस्तै, काठमाडौंको चक्रपथमा बस र्‍यापिड ट्रान्जिट (बिआरटी) निर्माण परियोजना र बाहिरी चक्रपथ परियोजनामा चार–चारवटा, सामाखुसी–टोखा–छहरे रोड र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई–दुईवटा आवेदन दर्ता भएका छन्। काठमाडौं उयपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेन परियोजनामा एक–एक वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ।

यातायातपछि ऊर्जा पूर्वाधारका सातवटा परियोजनामा आठवटा आवेदन परेका छन्। यसको कुल लागत आठ खर्ब रुपैयाँभन्दा बढी रहेको छ। ऊर्जातर्फ तमोर जलविद्युत् आयोजनामा दुईवटा, पश्चिम सेती, सुनकोशी दोस्रो र तेस्रो, तल्लो अरुण, एसआर६ हाइड्रोपावर तथा पाँच सय ५० मेगावटको सोलार परियोजनामा एक–एक वटा आवेदन दर्ता भएका छन्।

कृषि पूर्वाधारतर्फ पाँचवटा परियोजनाका लागि सात आवेदन परेका छन्। ऊर्लाबारी, हेम्जा, बनेपा र चितवन, विरेन्द्रनगर तथा तिलोत्तमामा एकीकृत कृषि पूर्वाधार निर्माण गर्ने पाँचवटा परियोजनामा लगानीका लागि आवेदन परेका हुन्। यसको कुल लागत करिब साढे दुई अर्ब रुपैयाँ हुने बताइएको छ।

त्यस्तै, सहरी पूर्वाधारतर्फ चारवटा परियोजनामा करिब ४२ अर्ब रुपैयाँको पाँचवटा, पर्यटन पूर्वाधारका तीन परियोजनामा करिब १० अर्ब रुपैयाँको तीनवटा, स्वास्थ्य तथा शिक्षा पूर्वाधारका दुई परियोजनामा १३ अर्ब रुपैयाँको दुईवटा र उद्योग पूर्वाधारका एक परियोजनामा ६ अर्ब रुपैयाँको एउटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ।

विदेशी लगानीकर्ताबाट प्राप्त आवेदनमध्ये पहिलोचरणमा आगामी तीन महिनाभित्र २७ परियोजनाका लागि विकासकर्ता छनोट गरिसक्ने लगानी बोर्डका सिइओ अधिकारीले बताए। 'दोस्रो चरणमा आगामी नौ महिनाभित्र १७ परियोजनाका लागि र तेस्रो चरणका ६ वटा परियोजनाका लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्नेगरी कार्ययोजना तयार गरेका छौं,' उनले भने। प्राप्त आवेदनहरुको मूल्यांकन तथा सम्मेलनमा भएका समझदारी तथा सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आर्थिक तथा भौतिक पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए। उक्त समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा लगानी बोर्डको कार्यालयको प्रतिनिधित्व गर्ने एक–एक जना सहसचिव रहने व्यवस्था गरिएको सिइओ अधिकारीले जानकारी दिए।

सरकारले गत चैत १५ र १६ मा आयोजना गरेको सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रबाट २७ गरी ७७ वटा परियोजना 'सोकेस' गरिएको थियो। त्यसमध्ये ११ वटा परियोजनामा लगानी गर्न १७ वटा आवेदन सम्मेलनकै क्रममा प्राप्त भएको थियो। सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई वैशाख ७ (अप्रिल २०) सम्म आवेदन पेस गर्ने अवसर दिइएको थियो। सोही अवधिमा थप ३१ वटा आवेदन प्राप्त भएको बोर्डले जानकारी दिएको छ।

यसैबीच, लगानी बोर्डले आवेदन पेस गर्ने समयसीमा एक महिना थप गरेको छ। त्यसअनुसार इच्छुक लगानीकर्ताले आगामी जेठ ६ गते (मे २०) सम्म लगानीको आवेदन दर्ता गर्न सक्ने बोर्डका सिइओ अधिकारीले जानकारी दिए। लगानीको लागि विस्तृत प्रस्ताव पेस गर्नका लागि समय थप गरिएको उनले बताए।

प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा ४० देशबाट तीन सयभन्दा बढी कम्पनीका करिब साढे सात सय प्रतिनिधि सहभागी भएका थिए। त्यसैगरी, सय बढी स्वदेशी कम्पनीका ६ सयभन्दा बढी प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका थिए। सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएका थिए।

जानकारी तथा लेखहरु