फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रम ऐन कार्यान्वयनमा इलामका निजी चिया उद्योग तयार

(GMT+08:00) 2019-04-22 15:51:12

इलामको सूर्योदय नगरपालिकाका ५२ वटा चिया कारखाना नयाँ श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन्। सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनमा आवद्ध ५२ वटा चिया उद्योगहरूले श्रम ऐन कार्यान्वयमा ल्याउने सहमति जनाएका कारोबार अनलाइनले लेखेको छ। उनीहरूले सरकासँग २५ बुँधे माग राख्दै सम्झौता कार्यन्वयन गर्ने भएका छन्। सरकारले पछिल्लो समय चिया मजदुरको दैनिक ज्याला २३१, महँगी भत्ता १५४, खाजा भत्ता ४२ रुपैयाँ गरेर ४२७ रुपैयाँ तोकेको छ। ज्यालाको १० प्रतिशत सञ्चयकोष, उपदानका लागि ८.३३ प्रतिशत र सामाजिक सुरक्षा कोषमा १.६७ प्रतिशत उद्योगहरूले भुक्तानी गर्नुपर्ने जनाइएको छ। उनीहरूले सरकारसँग राखेको केही शर्त आगामी असारसम्म लागू गर्ने र सरकारले तोकेको सेवा सुविधा दिने जनाएका छन्। एसोसिएसनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा कार्यान्वयन नगर्ने समेत चेतावनी दिएका छन्। सरकारले पछिल्लो समय तोकेको सेवासुविधा नपाएको भन्दै चिया श्रमिकहरू आन्दोलित भएका थिए। मजदुरको आन्दोलनका कारण चिया उद्योगसँगै किसानहरूलाई पनि समस्या भएको थियो। यसै विषयमा एसोसिएसनका पदाधिकारीसहितको टोलीले काठमाण्डौ पुगेर सरकारसँग २५ बुँदे माग राखेका छन्। ती माग पूरा भए मात्र मजदुरको बढेको सेवासुविधालाई निरन्तरता दिन सकिने एसोसिएसनका अध्यक्ष पुनम राईले बताउनुभयो। उहाँले सरकारले आफूहरूको माग पुरा गर्न नसके आफुहरूले समेत काम गर्न नसक्ने वताउनुभयो। सरकारले उद्योगी र लगानीकर्ताहरूलाई प्रोत्साहनको नीति ल्याए पनि कार्यन्वयन गर्न नसकेको गुनासो गर्नुभएको छ। सरकारले तोकेअनुसार सेवा सुविधा दिँदा दैनिक ४२७ रुपैयाँ मजदुरलाई भुक्तानी गर्नु पर्दछ। सरकारले चिया उद्योगलाई बेवास्ता गरेको भन्दै चिया उद्योगलाई दीर्घकालीन कृषि उद्योगको रुपमा विकास गर्न एसोसिएशनले माग गरेको छ। नेपालमा उत्पादित ९० प्रतिशत चिया भारत जाने गर्दछ। आफूहरूले उत्पादन गरेको चिया भारतमा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाई छ। यसलाई अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने चिया उद्योगीहरूको माग छ। उद्योगीहरूले विद्युत महसुलमा सहुलियत, किसानलाई अनुदानको व्यवस्था, कारखानाको मेसिन, औजार खरिदमा विशेष अनुदान लगायतका माग सरकारसँग राखेका छन्। भारततर्फ निकासी हुने चियामा १५ प्रतिशत अनुदानको माग भए पनि सरकार पाँच प्रतिशत दिन तयार भएको वताइएको छ। सूर्योदय नगरपालिकाभित्र रहेका ६१ वटा उद्योगमध्ये सरकारी स्वामित्व रहेको कन्याम चिया बगान, सुन्दरपानी टि स्टेट लगायतका नौ वटा उद्योगमा भने श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छैनन्। सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर ९ का अध्यक्ष देवेन्द्र शर्माले सरकारी स्वामित्व रहेको कन्याम चिया बगानमा समेत श्रम ऐन कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ। एसोसिएनमा आवद्ध नभएका सुन्दरपानी लगायत नौ वटा उद्योगसँग छलफल गरी श्रम ऐन लागु गर्न पहल गरिने वताइएको छ। निजी चिया उद्योगहरूले श्रम एन पालना गर्ने भएपनि सरकारी उद्योगहरूले सो एन पालना नगर्ने वताएका छन्। सवै चिया उद्योगहरूले एउटै नीति अपनाउन र निजि तथा सरकारी उद्योगहरूले श्रमिकहरूलाई समान ब्यवहार गर्नुपर्ने माग समेत उठ्दै आएको छ। सबै चिया उद्योगहरूलाई श्रम ऐन कार्यान्वयन गराउन नगरपालिकाले पहल गर्दै आएको नगरपालिकाले वताएको छ। इलामको सवैभन्दा वढि चिया उत्पादन हुने स्थानिय तह पनि सूर्योदय नगरपालिका नै हो। यहाँ सवैभन्दा वढि चिया कारखाना समेत सञ्चालनमा छन्। यहाँबाट भारततर्फ चिया पठाउन समेत सहज छ। जिल्लाको करिव १० प्रतिशत चिया युरोपका देशहरूमा जाने गरेको छ भने ९० प्रतिशत चिया भारतबाट अन्य देश जाने गरेको छ। जिल्लाको तल्लो क्षेत्रमा चियाको दुई टिपाइ भए पनि लेक क्षेत्रमा चिया टिपाई सुरु हुन लागेको छ।
जानकारी तथा लेखहरु