फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महाभूकम्पले तोडेको तातोपानी नाका पुन निर्माण तीब्र गतिमा

(GMT+08:00) 2019-04-23 13:51:13

चार वर्षअघिको विनाशकारी भूकम्पपछि बन्द नेपाल–चीन सिमा नाका तातोपानी पुनः सन्चालन हुने दिनलाई विशेष बनाउन दुवै देशका अधिकारीहरुले छलफल सुरु गरेका छन्।

नाका खुल्ने कुराले सीमा क्षेत्रका बासिन्दा पुराना दिन फर्कने कल्पनामा रमाउन थालेका छन्। किनकी यो क्षेत्रका जनताको रोजगारी नै यही नाका थियो। जेठ १७ गतेबाट पुनः सन्चालन गर्ने तयारी थालिएको यो सीमा नाकाले नेपाली अर्थतन्त्रमा अक्सिजनको काम गरिरहेको थियो। अर्बपति व्यवसायीदेखि झोलेपोके ब्यापारीसम्मको बाक्लो आउजाउ हुने यो नाका खुलाउने हुटहुटी चिनलाई भन्दा स्वभाविक रुपमा नेपाललाई रहेको अनलाइन खबरले लेखेको छ।

गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकका उम्मेदवारहरुको मुख्य एजेण्डा नै तातोपानी नाका खुलाउने थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्नि सापकोटाले चुनाव जितेपछि यसमा मेहनत पनि गर्नुभयो।

तातोपानी नाका नेपालको अर्थतन्त्रको 'लाइफलाइन' भए पनि चीनको लागि सुरक्षा संवेदनशीलताको हिसाबले टाउको दुःखाइ बनेको थियो। महाभूकम्पले सो क्षेत्र तहसनहस पारेपछि चीन सरकारले सीमास्थित आफ्नो क्षेत्रको वस्ती नै उठायो। चीनले तातोपानीको वस्तीलाई भित्री क्षेत्रको बजारमा सारेपछि नेपालीहरुले नाका नखुल्ने आशंका गरेका थिए। नेपालतर्फको पहल–प्रयासपछि भने नाका खुलाउन मात्र नभई नेपालतिरको भौतिक पूर्वाधार निर्माणमा समेत जुटेको छ।

त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नै चिनियाँ समकक्षी सी चिनफिङलाई धन्यवाद दिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ११ वैशाखदेखि मित्र राष्ट्र चीनको पहिलो राजकीय भ्रमण गर्दैहुनुहुन्छ। राष्ट्रपतिको भ्रमण दलमा रहने परराष्ट्रमन्त्री ज्ञवालीले नाका खुल्ने कार्यक्रमलाई 'विशेष' बनाइने बतायउनुभयो। उहाँले भन्नुभयो 'नाका पुनः सन्चालन कार्यक्रमलाई कसरी भव्य बनाउने भन्ने बिषयमा दुवै देशका अधिकारीहरु छलफलमा छन्।'

जेठ १७ गते नाका खुल्ने भएपछि पूर्वाधार निर्माणको कामलाई तीव्र बनाइएको छ। भुकम्प गएको चारवर्षमा तातोपानी क्षेत्रले पुनर्जीवन पाउने आशा बलियो बनेको छ। भूकम्पले तहसनहस पारेको तातोपानीको मुख्य बजार अहिले पनि भग्नावशेषमै छ। तातोपानीमा नुहाउने ठाउँतिरका केही घर, पसल र होटल सञ्चालनमा रहे पनि मुख्य बजारको भग्नावशेष र भोटेकोशीको बाढीले भत्काएका संरचना यथावत् छन्। तातोपानी क्षेत्रमा भूकम्पले भन्दा त्यसपछि आएको बाढीले बढी विनाश गरेको थियो।

चिनियाँ पक्षले जेठ १७ मा नाका खोल्ने औपचारिक जानकारी दिइसकेको छ। गत मेको पहिलो साता तातोपानी नाका सञ्चालन गर्ने योजना रहे पनि मितेरी पुल निर्माणमा ढिलाई भयो। अहिले भोटेकोशीमा मितेरी पुलको काम तीव्र रुपमा भइरहेको छ। भूकम्पले भत्काएको मितेरी पुलको संरचना यथावतै राखेर केही तल चीनले नयाँ पुल बनाइरहेको छ। पुरानो मितेरी पुल बन्द गरिएको छ। दुवै देशका सीमा सुरक्षा बल सिमानामा तैनाथ छन्।

भूकम्प र बाढीले तहसनहस बनाएको सीमा क्षेत्रको दुवैतर्फका सडक लगायतका भौतिक संरचना निर्माणको कामलाई गति दिइएको छ। चिनियाँ कम्पनी रेल्वे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी)ले सीमाबाट नेपालतर्फ बाह्रबिसेसम्मको साढे २४ किलोमिटर सडक रातदिन गरेर बनाइरहेका छन्। ठूलो झरी र हाहाहुरी चल्दा पनि काम नरोकिएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताउनुभयो।

अन्य सडक निर्माणको काम डिभिजन सडक कार्यालय दोलखाले गरिरहेको छ। सीआरसीसीले यही २५ वैशाखमा नेपाललाई सडक हस्तान्तरण गर्ने गरी निर्माण गरिरहेको डिपभजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झाले बताउनुभयो।

उहाँका अनुसार, यो सडक निर्माणको बजेट चीन सरकारकै हो। 'हामीसँग यससम्बन्धी सबै सूचना छैन', झाले भन्नुभयो, 'चिनियाँहरुले नेपालको परराष्ट्र मन्त्रालयमार्फत सम्झौता गरेर सडक बनाइरहेको हुनुपर्छ।'

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार, सीमादेखि बाह्रबिसेसम्मको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह निर्माणमा चीनले लगानी गरिरहेको छ। अहिले बाह्रबिसेबाट अघि बढेपछि जताततै चिनियाँ कामदार र चिनिया अक्षरका भित्तेलेखन देखिन्छ।

भोटेकोशीमा जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीले गरिरहेकाले यो क्षेत्रमा अहिले 'मिनी चाइना' भएको छ। चिनियाँको तुलनामा नेपाली कामदार नगन्य देखिन्छ। डिभिजन सडक कार्यालयले पनि अरनिको राजमार्गको कोठे, जुरे लगायत ठाउँठाउँमा काम गरिरहेको छ। अबको एक महिनामा सबै काम सकिने जानकारी कार्यालय प्रमुख झाले दिनुभयो।

तर, साँधी खोलामा नयाँ पुल बनाउन नयाँ डिजाइन आएको र एक साताभित्र टेण्डर हुने उहाँले बताउनुभयो। तातोपानी नाका बन्द भएसँगै यस क्षेत्रको व्यापार–व्यावसाय त डुब्यो नै, भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकावासीले धेरै हैरानी खेप्नुपर्‍यो। धेरै मान्छे विदेश पलायन भएको भोटकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बताउनुभयो।

उहाँका अनुसार, अब नाका खुले पनि पहिलेको मुख्य बजार लिपिङ भने गुल्जार हुने छैन। किनभने अब सस्माबाट आउने सामान अलि तलको लार्चामा निर्मित सुख्खा बन्दरगाहमा ल्याइनेछ। ब्यापारिक कारोबार पनि त्यहीँबाट हुनेछ। लिपिङ बजारमा अहिले सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कार्यालय, अध्यागमन र भन्सार कार्यालयका बोर्डहरु मात्र छन्। सबै सरकारी कार्यालय लार्चा सरेका छन्।

चीनले लिपिङका घरहरु हटाएर सडक फराकिलो बनाइदिन चाहे पनि नेपाल पक्षबाट सहयोग भएको छैन।

तातोपानी नाका सञ्चालनको तयारी हुँदै गर्दा यस क्षेत्रका स्थानीय र व्यापारी–व्यावसायीहरु विगतका कमी कमजोरीलाई पाठको रुपमा लिएर अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन हुनु पर्नेमा जोड दिन्छन्।

तातोपानी क्षेत्रको ढुवानीमा संलग्न नेपाल ट्रक कन्टेनर व्यवसायी संघका महासचिव कृष्ण क्षेत्री अब पहिलाको भन्दा विकसित रुपमा नाका सञ्चालन हुनेमा आशावादी हुनुहुन्छ। 'हिजो यहाँका संरचनाहरु बलिया थिएनन्। अहिले संरचनाहरु पनि बलियो भएको छ, नाका नहुँदा कति समस्या भयो त्यो सबै हामीले भोगेका छौं। त्यसैले अब तातोपानी नाकालाई बदनाम नहुने गरी सञ्चालन गर्नुपर्छ' क्षेत्रीले भन्नुभयो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो, 'चीनले बाह्रबिसेसम्मको सडक पुर्वाधार निर्माण लगायतको काम गरिरहेको छ। बाह्रबिसेदेखि यताको काम हामी गरिरहेका छौं।' 'जुरेको पहिरो र बाह्रबिसे वारीको बजार क्षेत्रभित्र केन्द्रित भएर काम भइरहेको छ। दोस्रो कुरा हामीले त्यहाँ भन्सार, अध्यागमन, क्वारेन्टाइन चोकपोष्ट जस्ता संरचना सुख्खा बन्दरगाहमा स्थापना गर्ने तयारी भइरहेको छ। हामी डेडलाइनभित्र सबै काम सम्पन्न गर्नेछौं।' 'यो नाका पुनः सञ्चालन गर्ने कुरा हाम्रो लागि जनजीवनसँग गाँसिएको विषय पनि हो। त्यसैले यसको उद्घाटनको 'मोडालिटी'बारे छलफल चलिरहेको छ। यसलाई विशेष 'इभेन्ट' बनाइनेछ,' उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु