फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआई शिखर मंचमा भाग लिन नेपालका तीन मन्त्री बेइजिङमा

(GMT+08:00) 2019-04-24 13:40:49

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर मंच अन्तर्गत विषयगत फोरममा सहभागी हुन नेपालबाट तीनजना मन्त्री आइतबार बेइजिङ आइपुग्नु भएको छ। बेइजिङमा वैशाख १२ देखि १४ सम्म 'बेल्ट एन्ड रोड सहकार्य : एक उज्ज्वल साझा भविष्य' को नारासँगै दोस्रो बीआरआई अन्तर्राष्ट्रिय शिखर मंच आयोजना हुँदैछ। शिखर मंचमा भाग लिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा बेइजिङ आइपुग्नु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

शिखर मंचमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुन आज काठमाडौँबाट सिआन प्रस्थान गर्नु भएको छ। चिनियाँ राष्ट्राध्यक्षको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको यो राजकीय भ्रमण हो। भ्रमणक्रममा द्विपक्षीय भेटवार्तासँगै नेपाल र चीनबीच पारवहनसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुनेछ। सन् २०१७ को मे मा चीन र नेपालबीच चीन नेपाल बीआरआईसम्बन्धी सहकार्य सम्झौता भएको थियो।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले राष्ट्रपतिको भ्रमण र सहभागिताले बीआरआईलाई नेपालले धेरै महत्त्व दिएको बताउनुभयो। उहाँले नेपाल चीनसँग पूर्वाधार र अर्थतन्त्रको विकास, दुई देशबीच जनस्तर सम्बन्ध सम्पर्कको विकास, पर्यटन तथा संस्कृतिको विकासका माध्यमबाट सहकार्य गरी साझा समृद्धिका लक्ष्य हासिल गर्न चाहेको बताउनुभयो। राजदूत पौड्यालले पूर्वाधार, यातायात सञ्जाल, रेलमार्ग, हवाई सम्पर्क र सञ्चार सम्पर्कको विस्तारबाट सम्पर्क बढाई दुवै देशको हितका लागि अगाडि बढ्ने बताउनुभयो।

शिखर मंच उद्घाटन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले गर्ने कार्यक्रम रहेको छ। साथै राष्ट्राध्यक्ष सीले गोलमेच शिखर शिखर मंचको अध्यक्षता गर्ने बताइएको छ। बीआरआईमातहत उच्च गुणस्तरीय सहकार्य गर्ने उद्देश्यका साथ गर्न लागेको शिखर मंचमा १२ वटा विभिन्न विषयगत गोष्ठी आयोजना हुनेछन्। व्यवसायी समुदायका लागि पहिलोपटक गोष्ठी आयोजना गरिनेछ।

सन् २०१३ मा चीनका राष्ट्राध्यक्ष सीले 'बेल्ट एन्ड रोड' प्रस्ताव प्रस्तुत गरेयता चीनसँग संयुक्त रूपमा बेल्ट एन्ड रोड निर्माणका लागि सम्झौतामा १ सय २६ देश र २९ वटा अन्तर्राष्ट्रय संस्थाले हस्ताक्षर गरिसकेका छन्। यसको प्रभाव दिनप्रतिदिन विस्तृत हुँदै गए पनि यसमा छिमेकी भारत सहभागी छैन। शिखर मंचमा एक सय ५० देशका साथै ९० अन्तर्राष्ट्रिय संगठनबाट पाँच हजार सहभागी हुनेछन्।

जानकारी तथा लेखहरु