फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राजकीय भ्रमणका क्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पल्लो शान्षी प्रान्तको सियानमा

(GMT+08:00) 2019-04-25 14:08:50

राजकीय भ्रमणका क्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी हिजो बुधबार अपराह्न चीनको पल्लो सान्सी प्रान्तको सदरमुकाम सियान आइपुग्नु भएको छ। राष्ट्रपति भण्डारीलाई पल्लो सान्सी प्रान्तका उपगभर्नर हु मिङलानले विमानस्थलमा स्वागत गर्नुभयो। सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि विमानस्थलमा उपस्थित हुनु भएको नागरिक अनलाइनले लेखेको छ।

चीनले भोलि शुक्रबारदेखि शनिबारसम्म आयोजना गर्ने दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिन राष्ट्रपति भण्डारी चीन आउनु भएको हो। उहाँ आज साँझ बेइजिङ आइपग्नुहुनेछ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आगामी सोमबार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि उहाँले अर्का शक्तिशाली नेता चाउ लचीसँग पनि भेटवार्ता गर्नुहुनेछ। राष्ट्रपति भण्डारीसँग आज मध्याह्न १२ बजे पल्लो सान्सी प्रान्तका गभर्नर लिउ कुओचोङले भेटवार्ता गर्नु भएकोछ।

चिनियाँ नेता चाउ लचीसँगको भेटमा राष्ट्रपति भण्डारीले विशेष गरी सुशासन र आपसी सम्बन्धमा कुराकानी गर्नुहुनेछ। गरिबी निवारणमा सबैभन्दा पहिले भ्रष्टाचार निवारण आवश्यक रहेको भन्दै चीनले भ्रष्टाचारविरुद्ध अभियानलाई कडाइका साथ अगाडि बढाएको छ। चीनले पछिल्लो समय गरिबी निवारणमा पनि उल्लेख्य उपलब्धि हासिल गरेको छ। चीनले गरिबी निवारण र भ्रष्टाचार निर्मूलीकरणमा बटुलेको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने विश्वासमा राष्ट्रपति भण्डारी र नेता चाउबीच यसै विषयमा कुराकानी हुनेछ।

राष्ट्रपति भण्डारी शुक्रबार र शनिबार दिनभर दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुनुहुनेछ। शिखर मञ्चमा उहाँको सम्बोधन गर्ने पालो शुक्रबार मध्याह्नपछि छ। त्यसैगरी शनिबार गोलमेच बैठकको तेस्रो सत्रलाई पनि उहाँले सम्बोधन गर्नुहुनेछ। शनिबार बेलुका नेपाली दूतावासले आयोजना गरेको स्वागत भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेहुनेछ।

आइतबार बिहान राष्ट्रपति भण्डारीले चिनियाँ लगानीकर्ता र व्यापारी समुदायलाई सम्बोधन गर्नुहुनेछ। उहाँ बसेकै वेस्टिन होटलमा चिनियाँ वैदेशिक लगानी प्रवद्र्धन परिषद्ले एक कार्यक्रम आयोजना गरेको छ। सोही दिन साँझ उहाँले बेइजिङ एक्स्पोमा नेपाली प्रदर्शनी कक्ष 'लुम्बिनी शान्ति बगैंचा' को उद्घाटन गर्नुहुनेछ। राष्ट्रपति भण्डारीले सोमबार बेइजिङको केन्द्रभागमा रहेको थिआनआनमन स्क्वायरको केन्द्रमा स्थापित सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुहुनेछ। सोही दिन अपराह्न राष्ट्रपति भण्डारीको चिनियाँ समकक्षी सीसँगको बैठक छ। सोही अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्नेछन्। राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुहुनेछ। त्यसपछि राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी अनुशासन आयोगका प्रमुख चाउ लचीसँग भेटवार्ता हुनेछ। सो भेटघाटसँगै चाउले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज पनि दिनुहुनेछ।

मंगलबार बिहान राष्ट्रपति भण्डारी बेइजिङबाट चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासा प्रस्थान गर्नुहुनेछ। त्यहाँ दुई दिन बसेर उनी १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि भ्रमणमा सहभागी हुनु भएको छ। त्यसैगरी राष्ट्रपतिका सल्लाहकारद्वय सुशीलराज प्याकुरेल र लालबाबुप्रसाद यादव, सांसदहरु योगेशकुमार भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, रामेश्वरराय यादव, कमलाकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा र गजेन्द्रबहादुर महत पनि भ्रमणमा सहभागी छन्।

महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव मंगलबार नै बेइजिङ आइपुग्नु भएको छ। त्यसैगरी बुधबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बेइजिङ आइपुग्नु भएको छ। उहाँहरु बिआरआई शिखर मञ्चकै थिमाटिक फोरममा भाग लिन आउनु भएको हो। शिखर मञ्चमा विभिन्न १२ वटा थिमाटिक फोरमको आयोजना हुँदैछ। औपचारिक रुपमा उहाँहरु राष्ट्रपतिको भ्रमण टोलीमा सहभागी नभएकाले विभागीय मन्त्री हुँदाहुँदै यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा परराष्ट्रमन्त्री ज्ञवालीले हस्ताक्षर गर्ने हुनु भएको हो। राष्ट्रपति भण्डारी काठमाडौंबाट नेपाल एयरलाइन्सको विमान चढी चीन आइपुग्नु भएको हो। उहाँलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गर्नु भएको थियो।

जानकारी तथा लेखहरु