फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राकृतिक कारणले धेरै गैँडा मरे

(GMT+08:00) 2019-04-25 14:11:24

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन्। चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन्। तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत नसकेको नेपाल खबर अनलाइनले लेखेको छ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएको छ। तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका छन्।

घिमिरेको भनाइमा लिङ्गसमेत पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षमा मरेका गैँडा हुन। 'एक वर्षमा २२/२५ को हाराहारी गैँडा प्राकृतिक कारणले मरेको पाइएको छ,' उहाँले भन्नुभयो, 'यस वर्ष मृत सङ्ख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैँडाका कारण सङ्ख्या बढि देखिएको हो।'

निकुञ्जले चालू आर्थिक वर्षमा पटक–पटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कारण पहिले मरेका धेरै गैँडा फेला परेका हुन्। विगतका वर्षहरुमा भन्दा बढी गैँडा प्राकृतिक कारणले नमर्ने दावी उहाँले गर्नुभयो।

प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका हुन्। निकुञ्जको तथ्याङ्कअनुसार हालसम्म मृत भेटिएका गैँडामध्ये २० वटा अमलटारी र १४ वटा कसरा क्षेत्रका पाइएको छ। अन्य गैँडा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन्। धेरै गैँडा भेटिएका क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र पर्छ।

दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए। ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए। बाढीको प्रभावका कारण मरेका गैँडासमेत निकुञ्जको खानतलासीका क्रममा भेटिएको अनुमानसमेत गरिएको छ। बाढीले तितरवितर पार्दा अलमलमा परेर पनि गैँडा मरेको घिमिरे बताउनुहुन्छ।

गैँडाको मृत्युका कारण पहिचान गर्न निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा प्राविधिकहरुको टोली गठन गरी काम अघि वढाइएको छ। एकै वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको भन्ने हल्ला चलेको भए पनि तथ्याङ्क हेर्दा विगत वर्षमा मरेको र पहिचान हुन नसकेका गैँडा धेरै भेटिएका छन्।

सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए। योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन्।

निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन्।

गैँडाको औसत आयु ६० वर्ष हुन्छ। निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए। पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन्।

जानकारी तथा लेखहरु