फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सकियो आठौं खेलकुद, नवौं गण्डकीमा

(GMT+08:00) 2019-04-25 14:13:44

केही कमजोरी र विवादलाई थाती राखेर प्रदेश ५ का ५ जिल्लामा आयोजित आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको प्रतियोगिताको समापन नेपालगञ्ज रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

राष्ट्रिय खेलकुदमा ३५ खेलका लागि ५ हजार २ सय ११ (२ हजार ८ सय २५ पुरुष, २ हजार ३ सय ८६ महिला) खेलाडीले ३ सय ३२ स्वर्ण, ३ सय ३२ रजत र ४ सय ८० कांस्यलाई प्रतिस्पर्धा गरेका थिए। उद्घाटन वैशाखमा भए पनि प्रतियोगिताका खेलहरू चैत २७ गतेदेखि सुरु भएको थियो।

आठौं खेलकुदमा त्रिभुवन आर्मी क्लबले सबैभन्दा धेरै पदक जितेर पुनः च्याम्पियन बन्यो। सातौंमा पनि आर्मी नै च्याम्पियन बनेको थियो। नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले क्रमसः दोस्रो र तेस्रो स्थान हासिल गरे। कर्णाली प्रतियोगिता आठौं खेलकुदमा पनि कमजोर देखियो। अन्य प्रदेशका खेलाडीको प्रदर्शन पनि अघिल्ले संस्करणको तुलनामा खस्किएको देखिए।

यस संस्करणमा गैरआवासीय नेपाली संघ (एनआरएन) का टोलीसहित सात प्रदेश र ३ विभागीय गरी ११ टोलीको सहभागिता थियो। बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा ३२ खेलका स्पर्धा हुँदा काठमाडौं, ललितपुर र कास्कीमा एक एक खेल आयोजना गरियो। अघिल्ला संस्करणमा जस्तै यस संस्करणमा पनि विभागीय टोलीकै बर्चश्व रह्यो, जुन अपेक्षाकृत नै थियो।

कमजोर पूर्वाधार र छोटो तयारीका बीच प्रतियोगिता खेल्न प्रदेश ५ पुगेका प्रदेश टोलीहरूले विभागका खेलाडीलाई चुनौति दिनै सकेनन्। खोलामा पौडी सिकेर पोखरीमा प्रतियोगिता खेल्न आउने खेलाडीसँग वर्षैभर प्रशिक्षण गरेका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुपर्दा पक्कै पनि सकारात्मक नतिजाको अपेक्षा गर्न सकिँदैन। एथ्लेटिक्समा जुत्ता नलगाई प्रतियोगितामा सहभागी भएर खेलाडीलाई देख्दा नेपाली खेलकुदमा विकेन्द्रीकरणको छनक आउँदैन।

आर्मीबाट आठौं खेलकुदमा सहभागिता जनाएकी पौडीकी ओलम्पियन गौरिका सिंहले १२ स्वर्ण पदक जितिन्। आठौं राष्ट्रिय खेलकुदमा एकल स्पर्धामा सबैभन्दा धेरै स्वर्ण जित्ने गौरिका नै बनिन्। उनले आफूले सहभागिता जनाएका कुनै पनि स्पर्धामा दोस्रो हुनु परेन। १२ मध्ये ६ स्पर्धामा गौरिकाले आफैंले बनाएको कीर्तिमान सुधार गरिन्। बाँकी ६ स्पर्धा २५ मिटरको शर्ट कोर्षमा पहिलोपल्ट आयोजना भएकाले कीर्तिमान बनाइन्।

गौरिकाले राष्ट्रिय खेलकुदको इतिहासमै एकै प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण जित्ने कीर्तिमान बराबरी गरिन््। यसअघि २०६५ सालमा आयोजना भएको पााचौं राष्ट्रिय खेलकुदमा पौडीबाटै करिस्मा कार्कीले १२ स्वर्ण जितेर कीर्तिमान कायम गरेकी थिइन्।

पौडीमै आर्मीकी डुवाना लामाले ६, एनआरएनका नाथान दोर्जे शेर्पाले ५ स्वर्ण जिते। जिम्न्यास्टिकतर्फ राजु राईले ५ स्पर्ण जितेर लगातार दोस्रो राष्ट्रिय खेलकुदमा आफूलाई अब्बल प्रमाणित गरे। सातौं खेलकुदमा उनले ७ स्वर्ण जितेका थिए।

आर्मीलाई स्तब्ध पार्दै नेपाल पुलिस पुरुष भलिबलमा च्याम्पियन बन्यो। सातौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटतर्फ खेल जारी रहेकै समयमा विवाद भएपछि छाडेर हिडेको एपीएफले यसपल्ट सोही प्रतिस्पर्धी प्रदेश १ लाई पराजित गरी स्वर्ण जित्यो। महिला भलिबलमा एपीएफको दवदवा कायमै रह्यो।

एथ्लेटिक्सको १ सय मिटर दौडमा यामसाजन सुनुवारलाई हराएर एपीएफका आशिष चौधरी सबैभन्दा तीव्र गतिका नेपाली धावन बने, आर्मीका कृष्ण चौधरीले पुरुष म्याराथनमा अहिलेसम्मकै उत्कृष्ट टाइमिङका साथ स्वर्ण जिते। उनले २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा दूरी पूरा गरे।

भारत्तोलनमा नेपाल पुलिस र आर्मी क्रमसः महिला र पुरुषतर्फ च्याम्पियन बने। तेक्वान्दोमा नेपाल पुलिसले बाजी मार्यो। उसुमा आर्मी टिम च्याम्पियन बन्यो। प्याराग्लाइडिङमा पनि आर्मीकै खेलाडीहरू अगाडि देखिए। आठौं खेलकुदको मुख्य खेलस्थल बाँके जिल्ला हो। यहाँ १७ खेलका १९ स्पर्धा सञ्चालन गरिएको थियो।

बाँकी बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा सञ्चालन गरियो। बाँकेमा सञ्चालन भएका खेलका लागि व्यवस्थापनको समस्या देखिएन। नेपालगञ्ज शहरको सम्पन्नताले व्यवस्थापनमा कमी हुन दिएन। अन्य जिल्लामा देखिएको व्यवस्थापनको लापरबाहीको भने खेलाडीहरूले नै दुखेसो गरे।

एकान्तमा निर्माण गरिएका खेलस्थलका कारण खेलाडीहरूलाई खानपिनमा समस्या भएको थियो। दाङको बेलझुण्डीस्थित रंगशाला वरपर सामान्य होटनसमेत नहुादा खेलाडीले चाउचाउ खाएर भोक मेटाउनुपर्ने अवस्था आयो।

यातायातको समस्याले पनि टोली समयमै खेलस्थल पुग्न नसकेको तथा फर्केर होटल आउन नसकेको देखियो। गर्मीका कारण खेल बिहान र बेलुकीको समयमा खेल आयोजना गर्ने भनिए पनि केहि खेलहरू प्राविधिक कारणले दिनभर सञ्चालन हुँदा खेलाडीहरूलाई कठिन भएको थियो।

आठौं खेलकुलको स्थानीय आयोजक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले केही पूर्वाधारहरू मानववस्तीभन्दा टाढा भएकाले खेलाडीलाई पारबहन र खानपिनमा समस्या भएको बताउनुभयो। उहाँले थप्नुभयो, 'खेलाडीले खेल्नै नपाउने, खानै नपाउने र बस्नै नपाउने अवस्था होइन।'

घरेलु खेलकुदको महामेला आयोजनाको अधिकार पाएलगत्तैदेखि प्रदेश ५ ले पूर्वाधार तयारी सुरु गरेको हो। २ वर्षको समयमा पनि पूर्वाधार निर्माण सम्पन्न नभएपछि निर्माणाधीन पूर्वाधारमै अधिकांश खेल आयोजना भएका थिए। अरु त अरु नेपालगञ्ज रंगशालामा राष्ट्रति भण्डारीले प्रतियोगिताको उद्घाटन गर्दा त्यहाँको भीआईपी प्यारापिट निर्माणको काम जारी थियो।

आठौं खेलकुदका लागि पूर्वाधार निर्माणमा मात्रै प्रदेश ५ का १ अर्वभन्दा बढी लगानी गरिएको छ। २५ करोड लागतमा नेपालगञ्ज रंगशालाले पुनर्जीवन पाएको छ। अहिलेसम्म पनि रंगशालाको भीआईपी प्यारापिट निर्माण कार्य सम्पन्न भइसकेको छैन। १५ करोड लगानी गरिएको पौडी पोखरी निर्माण सम्पन्न नभएपछि स्थानीय होटलमा प्रतियोगिता सञ्चालन भयो।

आठौंका लागि नेपालगञ्जमा जुडो हल, शुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी, कवर्डहल स्तरोन्नत्ति, खजुरामा भलिबल एकेडेमी निर्माण भएका छन्। जुडो हल र भलिबल एकेडेमीबाहेक सबै पूर्वाधारको काम सम्पन्न हुन बाँकी छ। दाङको बेलझुण्डीमा रंगशाला र एथ्लेटिक्सको सेन्थेटिक ट्याक निर्माण भएको छ। जहाँ २५ करोड लगानी गरिएको छ। घोराहीमा बास्केटबल कोर्ट, रुपन्देहीमा सिद्धार्थ रंगशाला स्तरोन्नत्ति र टेनिस कोर्ट निर्माण गरिएको छ।

अध्यक्ष ओलीले प्रतियोगिता सम्पन्न हुनुमा मात्र होइन आफ्नो प्रदेशमा ठूलो मात्रामा पूर्वाधार निर्माण भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। 'प्रतियोगिताकै लागि १ अर्वभन्दा बढी लागतमा बनेका खेल पूर्वाधारले हाम्रो प्रदेशलाई काठमाडौंपछिकै खेल पूर्वाधार सम्पन्न प्रदेशको रुपमा उभ्याएको छ, यसको उचित सदुपयोग गर्न सके पश्चिम नेपालका सबै जिल्लाका खेलाडी र खेलस्तर बढाउन अहम भूमिका खेल्नेछ।'

राष्ट्रिय खेलकुदको ३७ वर्ष लामो इतिहासमा ८ पल्टमात्र प्रतियोगिता आयोजना भएको छ। हरेक दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता यसपटकदेखि नियमित सम्पन्न हुनुले सकारात्मक सन्देश दिएको छ। नवौं राष्ट्रि खेलकुद गण्डकी प्रदेशमा आयोजना हुने निश्चित भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकुदको झण्डा गण्डकी प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा दुईपल्ट राष्ट्रिय खेलकुद आयोजना गरेर लामो समयदेखि जारी बेथितीको अन्त्य गरेको दावी गर्नुभयो। समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको छ, 'राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न ठूलो कसरत गर्नुपर्‍यो, खेलाडीलाई राष्टो गहना भनेर मात्र हुँदैन, व्यवहारमा पनि लागू गर्नुपर्छ। नियमित प्रतियोगिता खेल्न पाउने उनीहरूको अधिकार कसैले खोस्न पाउँदैन। हामीले त्यही गरेका छौं,' सदस्यसचिव विष्टले भन्नुभयो।

जानकारी तथा लेखहरु