फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पौडीमा गौरिकाको १२ स्वर्ण

(GMT+08:00) 2019-04-25 14:15:30

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छन्। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी राष्ट्रिय समाचार समितिले लेखेको छ।

उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको बताइन्। 'राष्ट्रिय खेलकूदमा जितेको पदकले थप हौसला मिलेको छ', उनले भनिन्। गौरिकाले आज ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन्। यस अघि उनले सो दूरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन्।

यस्तै एक सय मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितेकी हुन्। उनले सो दूरी एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गरिन्। यस अघि गौरिकाले सो दूरी एक मिनेट नौ दशमलव ३० सेकेण्डमा पूरा गरेकी थिइन्।

गौरिकाले महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन्।

यस्तै उनले महिला चार गुणा एक सय मिटर रिलेमा समेत स्वर्ण पदक जितिन्। यसअघि पाँचौ राष्ट्रिय खेलकूदमा पौडी खेलाडी करिश्मा कार्कीले पनि १२ स्वर्ण पदक जितेकी थिइन्।

जानकारी तथा लेखहरु