फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआई दोस्रो अन्तर्राष्ट्रिय शिखर मंचमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी

(GMT+08:00) 2019-04-26 14:49:58

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा हिजो बिहीबार साँझ बेइजिङ आइपुग्नु भएको छ। बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ राष्ट्रपति भण्डारीलाई चिनियाँ उपमन्त्री खोङ युआनयौले स्वागत गर्नु भएको छ। विमानस्थलमा राष्ट्रपति भण्डारीको स्वागतमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि उपस्थित हुनुभएको नागरिक अनलाइनले लेखेको छ।

चीनले आयोजना गरेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई' दोस्रो अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च औपचारिकरूपमा आज शुक्रबारदेखि सुरु भएको छ। बिहीबार केही थिएमेटिक मञ्चका बैठक र छलफल भएका छन्। राष्ट्रपति भण्डारी आज शुक्रबार र शनिबार पूरै समय शिखर मञ्चमा व्यस्त हुनुहुनेछ।

बुधबार अपराह्न चीनको पल्लो शान्सी प्रान्तको सदरमुकाम सिआन आइपुग्नु भएकी राष्ट्रपति भण्डारीले बिहीबार बिहान साढे नौदेखि दस बजेसम्म नेपाली विद्यार्थीसँग भेटघाट गर्नुभयो। सिआनमा कानुनमा विद्यावारिधि गरिरहेका मुकुन्द अधिकारीले बताएअनुसार राष्ट्रपति भण्डारीले नेपाली विद्यार्थीका समस्याबारे सोध्नुभएको थियो। चीनले नेपाललाई उपलब्ध गराएको सबै छात्रवृत्तिमा नेपालले विद्यार्थी पठाउन नसकेको जानकारी आफूले राष्ट्रपतिलाई जानकारी गराएको अधिकारीले बताउनुभयो। दिउँसो मध्यान्हमा पल्लो शान्सी प्रान्तका गभर्नर लिउ कुओचोङले राष्ट्रपति भण्डारीलाई दिवाभोज दिएर स्वागत गर्नुभएको थियो। दिवाभोजसँगै भएको वार्तामा सिआन र काठमाडौँबीचको सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा कुराकानी भएको भ्रमणटोलीमा सहभागी सांसद योगेश भट्टराईले बताउनुभयो।

काठमाडौं महानगरपालिकासँग सिआनले सन् १९९६ मा भगिनी सम्बन्ध स्थापना गरेको छ। सिआन नेपालका सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने पहिलो चिनियाँ सहर पनि हो। दुईपक्षीय सहयोग, सांस्कृतिक सम्बन्ध, हवाइ सेवा विस्तार, नेपालमा लगानी, कृषि अनुभवमा आदानप्रदानलगायतका विषयमा दुईपक्षीय छलफल भएको छ। काठमाडौँ जस्तै सिआन पनि सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको छ।

गभर्नर लिउसँगको भेटपछि राष्ट्रपतिले भण्डारीले सिआनको टेराकट्टा संग्रहालयको अवलोकन गर्नुभयो। टेराकोट्टा संग्रहालयलाई विश्वको एक आश्चर्य मानिन्छ। टेराकट्टाको अवलोकनपछि उहाँले बौद्धधर्मावलम्बीको प्रख्यात मन्त्री ता छियानको पनि अवलोकन गरेर अपरान्ह राष्ट्रपति सिआनबाट बेइजिङ प्रस्थान गर्नुभयो।

पल्लो शान्सी प्रान्त वर्तमान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको जन्मस्थान पनि हो। इसापूर्व १३० देखि हान वंशको शासनकालमा सिआनबाट रेशमी मार्ग सुरु भएको थियो। चीनको पुरानो राजधानी सिआनबाट सुरु भएको रेशमी मार्गले रोमन साम्राज्यसँग जोडेको थियो।

विशेषतः परम्परागत व्यापारका लागि प्रयोग भएको रेशमी मार्गको बहुवाणिज्य रुट फैल्याएर भारत, अरेबिया, ग्रिस, रोम र समुद्रलाई छुने अन्य मुलुकसँग चीनलाई एउटै सन्जालमा जोडेको थियो। अहिले त्यही सञ्जाल ब्युझाएर चिनियाँ राष्ट्राध्यक्ष सीले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको अवधारणा अगाडि ल्याउनु भएको छ। बीआरआईमा अहिलेसम्म १२६ वटा मुलुक र २९ वटा अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। त्यही बीआरआईको दोस्रो अन्तराष्ट्रिय शिखर मञ्चमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी बेइजिङ आइपुग्नु भएको हो। राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहभागी सबै सदस्यहरू बेइजिङस्थित नेपाली दूताबासदेखि नजिकै रहेको वेस्टिन होटलमा बसेको छ।

जानकारी तथा लेखहरु