फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन पारवहन मार्ग खुलाउन व्यापारिक पक्ष अग्रसर हुनुपर्ने

(GMT+08:00) 2019-05-05 16:05:30

नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएलगत्तै नेपालले चिनियाँ भूमि हुँदै समुद्रसम्म पहुँच पाएको छ । वर्षौंदेखि भारततर्फ मात्रै समुद्री मार्गको पहुँच पाएको नेपालले अर्को देशमार्फत विकल्प खुला राखेको यो पहिलोपटक हो । चीनबाट नेपालमा सामान आयात भइरहे पनि तेस्रो देशबाट चीन हुँदै सामान आएको छैन । दुई देशबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भए पनि यसका लागि केही समय लाग्ने सरकारी अधिकारीहरू बताउँछन् । यसका लागि ठयाक्कै कति समय लाग्छ भन्ने निर्धारण भएको छैन ।

वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा सामान भित्र्याउन आवश्यक पर्ने प्रक्रियाबारे अध्ययनका लागि चाँडै नेपाली टोली चीन जाने बताउनुभयो। यसका लागि ठयाक्कै कति समय लाग्छ भन्न नसकिने उहाँको भनाइ छ।

वाणिज्य मन्त्रालयबाट केही साताअघि मात्रै सेवा निवृत्त भएका सहसचिव रविशंकर सैंजुले तेस्रो देशबाट चीन हुँदै सामान ल्याउन निजी क्षेत्रले अग्रसरता देखाउनुपर्ने बताउनुभयो। प्रोटोकलमा सहमति जुटाउन पटकपटक दुई देशबीचको वार्तामा सहभागी सैंजुका अनुसार अब सरकारले गर्नुपर्ने काम धेरै बाँकी छैनन् । 'निजी क्षेत्रले चीनको बन्दरगाह प्रयोग गरी तेस्रो देशबाट सामान ल्याउन थाल्नुपर्छ,' उहाँ भन्नुहुन्छ, 'केहीपटक सामान ल्याएपछि सरकारले गरिदिनुपर्ने थप पहलबारे जानकारी हुन्छ ।' निजी क्षेत्रले आयात गर्न थालेपछि अप्ठयारो पर्ने विषयमा सरकारले थप पहल गरिदिन सक्ने उहाँको धारणा छ ।

बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमीमा राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका कल्याण रोकाको धारणा पनि सैंजुसँग मिल्दोजुल्दो छ। 'सरकारले व्यापार गर्दैन । उसले आफ्नातर्फबाट गर्नुपर्ने काम गरिसक्यो । अब व्यापारिक समुदाय अघि सर्नुपर्छ,' उहाँ भन्नुहुन्छ।

दोस्रो बीआरआई अन्तर्राष्ट्रिय शिखर मञ्चले समेटेको ३८ बुँदे घोषणापत्रमा ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी उल्लेख भएकाले यसलाई तीव्र रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रोटोकलबमोजिम नेपालले थ्योनचिन, लियानयुनकाङ, चानचियाङ र सनचन गरी चारवटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउँछ । भारतको विशाखापट्टनम् र कोलकाता बन्दरगाहमा निर्भर रहेको नेपाली आयातले चिनियाँ विकल्प खुलेसँगै विविधता पाउनेछ । नेपाली पक्षले चीनको कुन बन्दरगाह उपयुक्त हुन्छ भन्ने निक्र्योल गर्न नसक्दा चिनियाँ पक्षले नै नेपालका लागि सहज हुने बन्दरगाहको विकल्प उपलब्ध गराएको थियो ।

कान्तिपुर अनलाइनका अनुसार चार सामुद्रिक बन्दरगाहसँगै तीन सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । नेपाललाई तेस्रो मुलुक हुँदै सामान आयात गर्न सिगात्से, ल्हासा र लान्चौंस्थित सुख्खा बन्दरगाह प्रयोगको सुविधा हुनेछ । नेपाल र चीनबीच ६ वटा सीमा नाकाबाट व्यापार गर्न सकिनेछ ।

जानकारी तथा लेखहरु