फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको तातोपानी नाका जेठको दोस्रो सातादेखि सञ्चालनमा

(GMT+08:00) 2019-05-09 16:33:12

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीब्र गतिमा काम भइरहेको जानकारी दिनुभयो।

समितिका सभापति पवित्रा निरौला खरेलका अनुसार, बैठकमा मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेकोे बताउनुभयो। चीनले सिमाना क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारी समेत मन्त्री ज्ञवालीले गराउनुभएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न चीन भ्रमणबारे बैठकमा बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणको क्रममा छ वटा उत्तरी नाका, तीनवटा समुद्री नाका र चारवटा सुख्खा बन्दरगाह खोल्नेबारे चीनसँग छलफल भएको जानकारी गराउनुभएको थियो। राष्ट्रपति भण्डारीले वैशाख ११ देखि १८ गतेसम्म चीनको राजकीय भ्रमण गर्नुभएको थियो।

 

जानकारी तथा लेखहरु