फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तातोपानी भन्सारका कर्मचारी काममा फर्कंदै

(GMT+08:00) 2019-05-09 16:36:49

नेपाल र चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका छिट्टै सञ्चालनमा आउने भएपछि भन्सार कर्मचारी फर्कने तयारीमा छन्। चार वर्षअघिको बिनासकारी भूकम्पसँगै नाकाबाट व्यापारिक कारोबार बन्द भएपछि तातोपानी भन्सार कर्मचारी विभागमा कार्यरत रहँदै आएका नागरिक अनलाइनले लेखेको छ।

प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले नाका सञ्चालनका लागि कर्मचारी तातोपानी फर्कने तयारीमा रहेको बताउनुभयो। 'कर्मचारीको एउटा समूह एक साताभित्रै फर्कन्छ,' उहाँले भन्नुभयो। नाकामा बसेर कार्यालय सञ्चालन तयारी र केन्द्रसँग समन्वय गर्न पहिलो चरणमा नायब सुब्बाको नेतृत्वमा पाँच–सातजना कर्मचारी खटाउन लागेको बस्नेतले जानकारी दिनुभयो।

भूकम्पअघि तातोपानी भन्सारमा एक प्रमुख अधिकृत, दुई अधिकृतसहित ७० कर्मचारीको दरबन्दी थियो। नाका सञ्चालनमा रहँदा सबैको आकर्षणमा पर्ने यो भन्सारमा झण्डै सय कर्मचारी कार्यरत रहन्थे। भूकम्पपछि दरबन्दी कटौती गरेर २१ मा झारिएको तातोपानी भन्सार प्रमुख बस्नेतले बताउनुभयो। 'नाका सञ्चालन आएपछि पुरानै दरबन्दी कायम हुन सक्छ,' उहाँले भन्नुभयो।

नाका अब अत्याधुनिक सुक्खा बन्दरगाहबाट सञ्चालनमा आउने छ। हालको तातोपानी भन्सारको चार किलोमिटर तल लार्चामा चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह अन्तिम चरणमा पुगेको छ। केही दिनअघि भन्सार विभागका महानिर्देशकले नाका र बन्दरगाहको अवस्थाको अवलोकन गरेका थिए। 'व्यापारिक कारोबार सुरु हुनुअगावै बन्दरगाहमा भन्सार प्रणाली र नेटवर्किङ जडानको काम गर्नुपर्ने भएकाले सोको अध्ययन प्राविधिक टोलीबाट हुन लागेको हो,' बस्नेतले भन्नुभयो।

उहाँका अनुसार नेटवर्किङ जडानका लागि सबैभन्दा पहिले टेलिफोन र इन्टरनेटको आवश्यकता पर्छ। इन्टरनेट जडानका लागि नेपाल टेलिकमलाई आग्रह गरिसकिएको छ। बन्दरगाह नेपाललाई हस्तान्तरण गर्नासाथ नाकाबाट व्यापारिक कारोबार थाल्ने सहमति यसअघि नै दुई देशबीच भइसकेको छ। आगामी मे २० तारिख (जेठ ६ गते) भित्र बन्दरगाह हस्तान्तरण गर्ने सन्देश चीनले पठाएको छ।

सो समयभित्र बन्दरगाह हस्तान्तरण नभए यो प्रक्रिया केही लम्बिन सक्ने प्रमुख भन्सार अधिकृत बस्नेत बताउनुहुन्छ। उहाँका अनुसार जेठ १५ गते बजेट भाषण हुने भएकाले बन्दरगाह हस्तान्तरण समय प्रभावित हुन सक्छ। यस्तो भएको खण्डमा बजेटपछि दुई देशको सहमतिमा बन्दरगाह हस्तान्तरणको अर्को मिति तय हुनेछ। 'तर बन्दरगाह हस्तान्तरणमा ढिलाइ हुँदैमा कार्यालय सञ्चालन तयारी र नेटवर्किङ जडानको काम रोकिँदैन,' उहाँले भन्नुभयो।

विभिन्न उच्चस्तरीय भेटमा चिनियाँ अधिकारीले मे ३१ (जेठ १७) बाट नाका औपचारिक रुपमा सञ्चालनमा ल्याउन आफूहरुले तयारी थालेको बताउँदै आएका छन्। निर्धारित समयमा नाका सञ्चालनमा ल्याउन यसअगावै निर्माणाधीन मितेरी पुल सम्पन्न हुनु पर्नेछ। 'जति छिटो पुलको काम सकिन्छ, त्यति नै चाँडो नाका सञ्चालनमा आउँछ,' बस्नेतले भन्नुभयो।

भोटेकोसी नदीमाथि नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको छ। फर्मा जडान भइसकेको पुल संरचनामा गिटी, बालुवा र सिमेन्टको घोल राख्ने काम भइरहेको छ। घोल राखेपछि पानी खुवाएर पुल सुकाउनु पर्छ। त्यसपछि फर्मा निकालेपछि मात्र पुल सञ्चालन योग्य हुन्छ। यसले केही साता समय लिने पुल निर्माणमा संलग्न चिनियाँ ठेकेदारका प्राविधिक बताउँछन्।

पुल निर्माण केही दिन लम्बिए पनि बन्दगाह हस्तान्तरण गर्न भने त्यसले नरोक्ने प्रमुख भन्सार अधिकृत बस्नेत सुनाउनुहुन्छ। 'बन्दरगाह हस्तान्तरण र मितेरी पुल सञ्चालनमा आउन जति ढिला भए पनि जेठभित्रै नाकाबाट कारोबार थाल्न सकिने देखिन्छ,' उहाँले भन्नुभयो। यसअघि नै उद्योग, वाणिज्य मन्त्रालयले बन्दरगाहमा रहने खाद्य क्वारेन्टाइन, पशु क्वारेन्टाइन, सुरक्षा युनिट र बैंक तथा वित्तीय संस्थालाई नाकामा फर्कन निर्देशन दिइसकेको छ।

 

जानकारी तथा लेखहरु