फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुर महानगरका स्मार्ट सडक बत्ती जडान हुने

(GMT+08:00) 2019-05-11 14:13:17

यात्रु र सवारीचालकले रातको समयमा समेत सहज रूपमा हिँड्ने वातावरण बनाउन ललितपुर महानगरपालिकाका मुख्य सडकमा 'स्मार्ट' बत्ती जडान गरिने भएको छ। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान गर्न लागिएको नेपाल खबर अनलाइनले लेखेको छ।

सडकबत्ती जडानले स्थानीयवासीसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकलाई समेत सुविधा हुने महानगरले जनाएको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो।

महर्जनका अनुसार महानगरका पाँच मुख्य सडकमा 'स्मार्ट' बत्ती जडान गर्न लागिएको हो। कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो।

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ।

'स्मार्ट' बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले जनाएको छ। यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताउनुभयो। 'यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ,' उहाँले भन्नुभयो।

महानगरपालिकाले केही समय पहिले मात्रै कुपण्डोलबाट लगनखेलसम्मको सडकको बत्तीको मर्मत गरेको थियो। महानगरका कुनै पनि सडकमा बत्ती नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दो छ।

 

जानकारी तथा लेखहरु