फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जमीनमुनि सुनचाँदी भेटियो

(GMT+08:00) 2019-05-11 14:15:23

क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको अछामको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ। यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा आज थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरुको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ। सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो।

क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिनुभयो। जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिनुभयो।

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुन भेटिएको श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणस्थलको स्थलगत अवलोकन गर्नु भएको छ। सुन भेटिएको स्थानको निरीक्षणपछि नेता रावलले पुरातात्विक गहनाको संरक्षणका लागि श्रीकोटमा सङ्ग्रहालयको स्थापना गर्नुपर्ने बताउनुभयो।

त्यसका लागि आफूले पहल गर्नेसमेत उहाँले बताउनुभयो। उहाँले श्रीकोटमा पुरातत्व विभागको नियमअनुसार जिल्लामा नै उक्त सुनचाँदी राख्नका लागि पहल गर्नेसमेत बताउनुभयो। विसं १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिञ्जाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयवासी बताउँछन्।

पछि गएर स्थानीयवासीले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्वकालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ। विसं १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ।

रासस

जानकारी तथा लेखहरु