फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका विमानस्थलका लागि १९ करोडका नयाँ दमकल

(GMT+08:00) 2019-05-12 15:05:29

नेपालको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ९ विमानस्थलमा नयाँ दमकल राख्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। मझौला र सानो गरी दुई किसिमका अल्ट्रालाइट दमकल केही दिनमा नेपाल आइपुग्दैगरेको नेपाल खबर अनलाइनले लेखेको छ।

विमानस्थल सञ्चालन निर्देशनालयका उप महानिर्देशक देवानन्द उपाध्यायकाअनुसार मझौला खालका दमकल २९ सय लिटर पानी र ५ सय लिटर फोम क्षमताको छन्। ती दमकलहरु चन्द्रगढी, जनकपुर, भरतपुर र धनगढी विमानस्थलका लागि हुन्।

'वायुसेवा सुरक्षा अझ बलियो पार्दै लैजाने कार्यक्रम अन्तर्गत दमकलहरू ल्याउन लागिएको हो', उपाध्याय भन्नुहुन्छ, 'अहिले ल्याउन लागिएका दमकलहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) मापदण्डका हुन्।'

उपाध्यायका अनुसार सानो खालको अल्ट्रालाइट दमकल रारा, तुम्लिङटार, जुम्ला, जोमसोम र सिमिकोट विमानस्थलका लागि हुन्। तिनको क्षमता ५ सय लिटर पानी र ५० लिटर फोम रहेको छ।

आइकाओ मापदण्डअनुसार मझौला दमकल क्याटागोरी ३ अन्तर्गत र अल्ट्रालाइट १ अन्तर्गत पर्छन्। अष्ट्रियाको रोजेन कम्पनीमा निर्मित ती दमकलहरु करिब १९ करोड लागतमा क्यानले खरिद गरेको हो।

नेपाल नागरिक उड्डय प्राधिकरणको वेवसाइटका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित २८ विमानस्थल सञ्चालित छन्। यी मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित ८ विमानस्थलमा आधुनिक दमकल छन्। विमानस्थलको भौगोलिक अवस्था र अन्य विषयका कारण कतिपय विमानस्थलमा ठूला दमकल राख्न समस्या रहेको उपाध्याय बताउनुहुन्छ। त्यस्ता विमानस्थलहरुमा तत्कालका लागि फायर एस्टिमेसन जडान गर्ने काम गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँग ५ फम टेन्डर (पानी र फोम भएको) र २ वटा पानी मात्र भएको दमकल रहेका छन्। अन्य ७ विमानस्थलमा ठूलो र सानो गरी ९ दमकल राखिएको इल्केट्रो मेकानिकल विभागका प्रमुख कुलप्रसाद सिंखडा बताउनुहुन्छ।

त्रिभुवन विमानस्थलमै एउटा रेक्स्यु, १ वटा फायर कमाण्ड भेइकल र तीन वटा एम्बुलेन्स तयारी अवस्थामा छन्। हाल सञ्चालित अवस्थामा रहेका विमानस्थल मध्ये सिमरा र पोखरा विमानस्थलसँग ६ हजार लिटर पानी, हजार लिटर फोम क्षमताका एक–एक दमकल रहेका छन्।

विराटनगर विमानस्थलसँग ९ हजार लिटर पानी १५ सय लिटर फोम क्षमताका पुरनो र नयाँ गरी दुई दमकल रहेका छन्। नेपालगन्जसँग १२ हजार पाँच सय लिटर पानी र १५ सय लिटर फोम क्षमताको एक तथा ९ हजार लिटर पानी १५ सय लिटर फोम क्षमताको नयाँ र पुरानो दुई वटा दमकल रहेका छन्। भैरहवा विमानस्थलमा ६ हजार लिटर पानी, हजार लिटर फोम क्षमताको दमकल राखिएको छ।

सुर्खेत र लुक्ला विमानस्थलमा सानो खालको अल्ट्रालाइट २ सय लिटर पानी र ४० लिटर फोम क्षमताको दमकल छन्।

जानकारी तथा लेखहरु