फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीमा चिनियाँ पात्रो अनुसार बुद्ध जयन्ती मनाइयो

(GMT+08:00) 2019-05-13 18:26:11
बुद्धस्थल लुम्बिनीमा चिनियाँ पात्रोअनुसार बुद्ध जयन्ती मनाइएको छ। चीनभर आइतबार मनाइएको बुद्ध जन्मजयन्ती नेपालमा पनि मनाइएको हो। चिनियाँ पात्रो अनुसार यस वर्षको २६४४ औं बुद्ध जन्मजयन्ती नेपालको भन्दा ६ दिन अघि परेको कान्तिपुर अनलाइनले लेखेको छ।

लुम्बिनीस्थित चीनको चोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा आयोजित कार्यक्रममा मायादेवी मन्दिर परिसरमा पिपलको रुखमुनी विशेष मण्डप सजाएर बेबी बुद्ध (सिद्धार्थकुरमा) को मूर्तिलाई नुहाईदिएर धार्मिक विधिपूर्वक पूजाआजा गरी मनाइयो। बुद्ध जन्मना साथ नुहाइदिएकोले यहाँ पनि नुहाई दिएर पवित्र गरिएको थियो। यसअघि बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिरभित्र लगेर बुद्ध जन्मेको ठाउँमा पूजाआजा गरिएको थियो। मूर्तिलाई भिक्षुहरु पुष्करणी पोखरी परिक्रमा गराएका थिए।

कार्यक्रममा थाई, भियतनाम, म्यानमार, तिब्बती भिक्षु र थेराबाद बौद्ध धमावलम्बीले शिलप्रार्थना र पाठ गरेका थिए। चोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा दोस्रो ठूलो भिक्षु सु चुङ्ग युङले चिनियाँ परम्पराअनुसार पूजाआजा गराएका थिए। चीनको आनहुई, फुचेन, सान्सी, शन्चन र सियान लगायतका ठाउँबाट बुद्धजयन्ती मनाउन यहाँ ८० उपासक उपासिका आएका थिए। उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भटराई र भियतनामी भिक्षु डा. लामले मन्तव्य दिनुभयो। त्यस्तै भियतनाम विहारले पनि आजै मायादेवी मन्दिर पूजाआजा गरी बुद्धजन्म जयन्ती मनाएको छ।

जानकारी तथा लेखहरु