सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय 'रत्न तथा आभूषण' मेला हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो।
खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने मेलामा नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी, रत्न पत्थरलगायतका सामग्री प्रदर्शनीमा राखिनेछन्। गोरखापत्र अनलाइनका अनुसार नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म फैलिएका हिमशृङ्खला तथा पहाडमा बहुमूल्य रत्न पत्थर पाइने गरेको र त्यसलाई प्रदर्शन गर्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
स्वदेशी रत्न, पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभूषणको निर्यात विस्तार एवं आयात प्रतिस्थापनामा टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको विभागका सहसचिव जयराज घिमिरेले जानकारी दिनुभयो । नेपालमा उत्खनन भएका रत्न पत्थर तथा गरगहनाको मौलिकता, विविधता, विशिष्टतालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवर्द्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान पुग्ने विभागको विश्वास छ। मेलामा सरकारका सम्बन्धित क्षेत्रका विभिन्न निकाय, निजी क्षेत्रका अग्रणी संस्था, भारत, चीन, थाइल्याण्ड, जापान, म्यानमार, श्रीलङ्का, बङ्गलादेश, मलेशियालगायतका ७० स्टल रहने सहसचिव घिमिरेले बताउनुभयो।