फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारततर्फको निर्यात २९ प्रतिशतले बढ्दा चीनतर्फ २६ प्रतिशतले कमी

(GMT+08:00) 2019-05-20 14:59:48

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार चीनतर्फ नेपालको बस्तु निर्यात निकै कम भएको पाइएको छ। नेपालले चालू आवमा कुल वस्तु निर्यात ६९ अर्ब ८२ करोड रुपैयाँ बराबरको गरेको छ। जुन निर्यात गत वर्ष भन्दा १६.९ प्रतिशतले बढी रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

तर चीन तर्फको निर्यात भने गत वर्षको सोही अवधी भन्दा २५ दशमलव ७ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारततर्फ २८.९ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ।

निर्यात हुने बस्तुहरुमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको रहेका छन्। त्यस्तै गतवर्ष रामो निर्यात भएका बस्तुहरु अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिन लगायतका बस्तुहरुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु आयात २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँ बराबरको पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २०.५ प्रतिशतले बढेको थियो।

बस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९.२ प्रतिशत, चीनबाट भएको आयात ३५.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९.० प्रतिशतले बढेको छ।

बढी आयत हुने वस्तुहरुमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ। आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २१.६ प्रतिशतले विस्तार भई ९ खर्ब ९१ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

जानकारी तथा लेखहरु