फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथाको उचाइ नाप्ने नेपाली टोली शिखरमा पुग्यो

(GMT+08:00) 2019-05-22 14:09:18

सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोली आज (बुधबार) बिहान सगरमाथा शिखरमा पुगेको छ।विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथा शिखरमा पुगेको आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

गौतमसँगै रविन कार्की, छिरिङजाङबु शेर्पा लगायत पनि शिखरमा पुग्नु भएको छ। चुचुरोबाट फर्केर उहाँहरु साउथकोल आइसक्नु भएको शेर्पाले बताउनुभयो। शेर्पाकाअनुसार बिहीबारसम्ममा उहाँहरु आधारशिविर फर्किनुहुनेछ।

२७ चैतमा सगरमाथाको उचाइ नाप्न टोली त्यसतर्फ प्रस्थान गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीलाई विदाइ गर्नु भएको थियो। टोलीमा नापी अधिकृत खिमलाल गौतमको नेतृत्वको टोलीमा नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिँह भण्डारी र अमिन युवराज धिताल लगायत हुनुहुन्छ।

टोलीका दुई सदस्य सुरजसिंह भण्डारी र युवराज धितालले भने आधारशिविरमा बसेर काम गरिरहनु भएको छ। शिखरतर्फ जानुअघि टिम लिडर गौतमले कम्तिमा आधाघण्टा शिखरमै काम गर्नुपर्ने भएकोले राति नै शिखरमा पुग्नुपर्ने चुनौती रहेको बताउनु भएको थियो। टोलीले शिखरमा जिपिएस सेट गरेको छ। अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि सरगमाथाको बास्तविक उचाइ टुंगो लगाउने नापी विभागले जनाएको छ। त्यसका लागि अझै कम्तिमा अझै ६ महिना लाग्नेछ।

नेपाल सरकारले पहिलोपटक आफैँले सगरमाथाको उचाइ नापेको हो। यसअघि सन् १८५६ मा व्रिटिस सर्वेयर जर्ज एभरेष्टले सर्वे गरी विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको प्रमाणित गरेका थिए।

चीनले समेत यसअघि पटकपटक सगरमाथाको उचाइ नापेको छ। सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाई समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको जनाएको थियो।

तर, त्यो उचाईलाई सरकारले मान्यता दिएको छैन। नेपाल सरकारको तर्फबाट नापेर पत्ता लगाउने उचाई नै सगरमाथाको आधिकारिक उचाई हुने विज्ञहरुले बताएका छन्।

जानकारी तथा लेखहरु