फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न

(GMT+08:00) 2019-05-22 14:12:09

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ। विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ।

राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ। निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो।

यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो। नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो।

निर्माण सम्पन्न भएसँगै अब सो रनवेमा आपतकालीन र परीक्षण उडान गर्न सकिने भएको छ। रनवे निर्माणको जिम्मा चिनियाँ कम्पनी 'नर्थ वेस्ट सिभिल एभिएसन' ले पाएको थियो। आयोजना अन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई 'ट्याक्सी वे' बनाउने उद्देश्य छ।

विमानस्थलअन्तर्गत धावनमार्ग सकिए पनि टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भने जारी रहेको विमानस्थल आयोजनाले जनाएको छ।

आयोजना प्रमुख अधिकारीले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जानकारी दिनुभयो। "अब करिब ५८ प्रतिशत उपकरण जडानको काम बाँकी हो"–उहाँले भन्नुभयो। उहाँले जहाज पार्किङ ढलानको काम पुरा भइसकेको बताउनुभयो।

यो आयोजनाको लागत करिब छ अर्ब २२ करोड रुपियाँ रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको मापदण्ड अनुसार यो विमानस्थल 'फोर इ' स्तरको विमानस्थल हो। वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित यो विमानस्थल निर्माण भइरहेको हो। यो विमानस्थल डिसेम्बर २०१७ मै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधनका कारण जुन २०१९ सम्म सक्नुपर्ने लक्ष्य तोकिएको छ।

जानकारी तथा लेखहरु