फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ व्यवस्थापनसहित सौर्यले एयरलाइन्सले उडान सुरु गर्‍यो

(GMT+08:00) 2019-05-22 14:15:25

आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ। नेपालमै पहिलो पटक जेट इन्जिनबाट आन्तरिक उडान सुरु गरेको निजी क्षेत्रको सो वायुसेवा कम्पनी व्यवस्थापकीय कमजोरीका कारण तीन महिना बन्द हुन पुगेको थियो। पुरानो बक्यौता नतिरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गत पुस २० गतेदेखि सौर्यका जहाज नै ग्राउन्डेड गरिदिएको नेपाल खबर अनलाइनले लेखेको छ।

जहाज ग्राउन्डेड भएपछि नयाँ व्यवस्थापनसहित सौर्यले पुरानो बक्यौता तिर्दै गत फागुन २४ गतेदेखि नियमित उडान सुरु गरेको हो। कम्पनीले हाल दैनिक ४ उडान भर्दै आएको छ। दुई वटा जेट विमानवाट काठमाडौं–विराटनगर दैनिक २ उडान, काठमाडौं–भैरहवा र काठमाडौं–भद्रपुरमा दैनिक १/१ उडान गर्दै आएको सौर्यका प्रवक्ता मुकेश खनालले जानकारी दिनुभयो। खनालका अनुसार सौर्यले नेपालगञ्ज र धनगढीमा उडान गर्दै आएता पनि हाल ति दुई स्थानमा उडान भरेको छैन। नेपालगञ्ज र धनगढी सहित अन्य केही स्थानमा पनि केही समयपछि उडान भर्ने योजना सौर्यको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सौर्य एयरलाइन्सले ४ करोड ३२ लाख रुपैँया भुक्तानी गर्न बाँकी हुँदा विमानस्थल कार्यालयले जहाज ग्राउन्डेड गरिदिएको थियो। एयरलाइन्सले कम्पनीलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ।

बक्यौता रकम भुक्तानीका लागि पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि विमानस्थल कार्यालयले जहाज ग्राउन्डेड गरेको थियो। लामो समयदेखि जहाज ग्राउन्डेड भएपछि सौर्यले नयाँ व्यवस्थापनका साथ पुनः उडान सुरु गरेको हो। पुरानो लगानीकर्तालाई जिम्मेवारीमा नराखी नयाँ लगानीकर्ताले उडान सुरु गरेका हुन्।

'विदेशी विमान कम्पनीलाई जहाज बिक्री गरिएको भन्ने कुरा बाहिर आएको छ। तर यथार्थ त्यस्तो हैन', प्रवक्ता खनालले भन्नुभयो, 'नेपालीकै लगानीमा नयाँ व्यवस्थापनका साथ उडान सुरु भएको हो। विदेशीलाई केही सेयर बेच्ने कुरा भएको छ। तर कसरी बेच्ने भन्ने कुरा निश्चित भैसकेको छैन' उहाँले भन्नुभयो।

'अब छिट्टै 'एफडीआई प्रोसेस'मा जादैछौँ। त्यस पछि बिक्रीको तयारी हुन्छ' उहाँले थप्नुभयो।

फागुन २४ गतेदेखी उडान सुरु भएको दुई महिनाभित्रमा बक्यौता रकम भुक्तानी गरिसक्ने सहमति अनुसार उडान सुरु गरेको खनालले बताउनुभयो। तोकिए अनुसार नै मासिक ५० लाख रुपैयाँ भन्दा बढी भुक्तानी गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो।

एयरलाईन्सले फागुनदेखी हालसम्म ४ करोडभन्दा बढी बक्यौता भुक्तानी गरिसकेको छ।

सौर्यले मंगलबार पनि थप ५० लाख रुपैयाँ विमानस्थल कार्यालयलाई भुक्तानी गरेको छ। आइतबार मात्रै विमानस्थल कार्यालयका प्रमुखसँगको छलफलमा एक महिनाभित्र भुक्तानी गरिसक्ने सहमतिअनुसार रकम भुक्तानी गरिएको सौर्य एयरले जनाएको छ। अब १ करोड ६० लाखको हाराहारीमा बक्यौता भुक्तानी गर्न बाँकी छ।

एयरलाइन्ससँग हाल दुई वटा जेट इन्जिन विमान छन्। विस २०७१ साल मंसिर १ गतेदेखी सौर्यले २ विमानवाट व्यवसायिक रुपमा आन्तरिक उडान सुरु गरेको थियो।

हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन्।

आन्तरिक तर्फ करीब ३०० जहाजले नियमित उडान गर्दै आएका छन्। जस अन्तरगत १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन्।

जानकारी तथा लेखहरु