फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्सी धानको रोपाइँ सुरु

(GMT+08:00) 2019-05-23 15:12:39

जुम्लामा मार्सी धानको रोपाइँ सुरु भएको छ। जुम्ला जिल्लाभर रोपाइँ सुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौ काट्दै मार्सी रोप्न व्यस्त छन्। जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ धमाधम चल्दै गरेको गोरखापत्र अनलाइनले लेखेको छ। जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न सुरु भएको हो। अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी जागरण आएको छ। निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ।

रोपाइँको समयमा यहाँका किसानले रमाइलो गरेर धान रोप्ने चलन छ। कृषकले एक अर्काको रोपाइँमा रोेप्नेरी, हली र गोरुसहित सापटी दिने चलन छ। हरेक किसानको रोपाइँको दिन समेत तोकिएको हुन्छ।

चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठको पहिलो साताबाटै रोपाइँ सुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ। यसैगरी कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा रोपेको धान भित्र्याइन्छ। यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ। विभिन्न गीत गाउँदै रोप्ने र नाच्ने चलन पनि छ। यहाँ कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोप्ने चलन पनि छ। जसलाई स्थानीय भाषामा चोपाइँ भनिन्छ।

जानकारी तथा लेखहरु