फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सिमेन्ट उत्पादनमा तीव्र वृद्धि

(GMT+08:00) 2019-05-30 14:01:29

मुलुकमा पूर्वाधार निर्माणले गति लिएर खपत बढ्ने आसमा धमाधम नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आएका छन्। तर पनि अपेक्षित रुपमा खपत नबढ्दा उद्योगी निराश बनेका छन्। नेपाल सिमेन्ट उत्पादक संघका महासचिव ताराप्रसाद पोखरेलका अनुसार अहिले सिमेन्ट उद्योगले आफ्नो क्षमताको ८० प्रतिशतमात्र उत्पादन गरिरहेका छन्। पोखरेलले भन्नुभयो, 'खपत नबढेपछि उद्योगले आफ्नो क्षमताको ७५–८० प्रतिशतमात्र उत्पादन गरिरहेका छन्।'

सिमेन्ट बनाउने ग्रान्डिङ उद्योगको क्षमता एक करोड ३० लाख टन पुगेको छ। खपत बढ्न नसकेपछि उद्योगी चिन्तित छन्। संघका अनुसार मुलुकमा करिब ९० लाख मेट्रिक टन सिमेन्ट खपत हुन्छ। हरेक वर्ष १० प्रतिशत खपत बढ्ने अपेक्षा गरिए अनुसार यो वर्ष करिब ९९ लाख टन सिमेन्ट खपत हुने अपेक्षा गरिएको थियो।

सिमेन्टको बजार एक सय ५० अर्ब रुपैयाँको पुगेको छ। पछिल्लो समय सिमेन्ट उद्योगमा धमाधम लगानी बढिरहेको छ। पुरानाले क्षमता बढाइरहेका छन् भने नयाँ थपिने क्रम जारी छ। उद्योग विभागका अनुसार अहिलेसम्म एक सय १३ वटा सिमेन्ट उद्योग सञ्चालनको अनुमति जारी भएको छ। तीमध्ये ५६ वटाले उत्पादन गरिरहेका छन्। केही नयाँ उद्योग तत्काल उत्पादन गर्ने तयारीमा छन्। ५४ वटा उद्योग निजी क्षेत्रले सञ्चालन गरेका छन्। सिमेन्ट उद्योगमा करिब दुई खर्ब रुपैयाँ लगानी पुगेको छ। दैनिक उपभोग्य वस्तु विदेशबाट आयात भइरहेको बेला मुलुक सिमेन्टमा आत्मनिर्भर भएको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु