फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई रूद्राक्ष उपहार

(GMT+08:00) 2019-06-01 14:11:57

दोस्रोपटक भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले रुद्राक्ष माला उपहार दिनुभएको छ। बिहीबार भारत पुगेका प्रधानमन्त्री ओली शुक्रबार नै नेपाल फर्किसक्नुभएको छ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दिनअघि बजेट सार्वजनिक गर्दै अबदेखि सरकारले दिने उपहारमा स्वदेशी उत्पादनका सामग्री अनिवार्य गरिएको घोषणा गर्नुभएको थियो। स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सरकारको चाहना अर्थमन्त्रीको घोषणालगत्तै प्रधानमन्त्री ओलीले पूरा गर्नुभएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले ट्विट गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाली जनताका तर्फबाट सफलताको शुभकामनासहित रुद्राक्ष माला उपहार दिएको उल्लेख गर्नुभयो।

सेतोपाटी अनलाइनका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मित्रता घनिष्ट बनाउने प्रतीकका साथै नेपालकै उत्पादन भएकाले प्रचार हुने हिसाबले रुद्राक्ष रोजिएको बताउनुभयो।

'मित्रराष्ट्र भारत र चीन दुवै देशका लागि रुद्राक्षको स्रोत नेपाल हो,' अर्यालले भन्नुभयो, 'भोजपुर, संखुवासभाजस्ता पहाडी जिल्लामा राम्ररी रुद्राक्ष उत्पादन हुन्छ। हामीले भारत र चीनमा रुद्राक्ष निर्यात गर्दै आइरहेकै छौं।'

रुद्राक्ष मुख्यतया नेपालको मध्यपहाडी क्षेत्रमा पाइन्छ। रुद्राक्ष हिन्दु धर्मका देवता शिव र बौद्ध धर्मसँग पनि सम्बन्धित छ। प्रधानमन्त्री ओलीले हालै भियतनाम जाँदा काठमा कुँदिएको बुद्धको चित्र र राष्ट्रपति विद्यादेवी भण्डारीले चीन जाँदा बुद्धको चित्र उपहार लगेको पनि अर्यालले बताउनुभयो।

जानकारी तथा लेखहरु