फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा

(GMT+08:00) 2019-06-08 14:16:31

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) युरोपेली मुलुकको भ्रमण सुरु गर्नु भएको छ। आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपका तीन देशको औपचारिक भ्रमणका लागि आज अपराह्न उहाँ त्यसतर्फ प्रस्थान गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकको भ्रमणमा निस्कन लाग्नुभएको हो। प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ।

प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवद्र्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीका अवसरमा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते त्यहाँ रहनुहुनेछ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले उक्त समारोहमा चौथो वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। समारोहमा ४० भन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने छ। त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले केही देशका समकक्षी र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जेठ २७ देखि २९ गतेसम्म प्रधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमण गर्नुहुनेछ। पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरीय भ्रमण हुन लागेको हो। बेलायत भ्रमणका क्रममा उहाँले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको त्यहाँकी प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले भ्रमणकै सिलसिलामा नर्बेली प्रधानमन्त्री इर्ना सोल्बेर्गसँग पनि भेटवार्ता गर्नुहुनेछ।

परराष्ट्र स्रोतका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्नुहुनेछ। त्यस क्रममा उहाँले पेरिसमा आफ्ना समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नुहुनेछ।

उहाँको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा भट्टराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव र श्रम तथा रोजगार मन्त्रालयका सचिवलगायत करिब २२ जना सहभागी हुनेछन्।

नौ दिनको भ्रमण गरेर प्रधानमन्त्री ओली आउने असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जानकारी तथा लेखहरु