फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन तातोपानी नाका पूर्ण रूपमा खुल्न बाँकी

(GMT+08:00) 2019-06-11 14:34:00

चीनसँग पुरानो नाका तातोपानी भूकम्पपछि बन्द भएर ४९ महिनापछि २ साताअघि पुनः सञ्चालनमा आयो। गत २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो। तर सञ्चालनमा आएको २ साता बित्न लाग्दासमेत चारवटा कन्टेनर बाहेक पुनः सञ्चालनमा आएको नाका अहिले औपचारिकतामा मात्रै सीमित भएको छ।

चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुवै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा ल्याइएको हो।

यसैबीच नाका खुलेपछि स्थानीय तथा व्यापारी व्यवसायीहरू खुसी देखिएका छन्। नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ। वार्षिक २० अर्बको आयात र ३ अर्ब रुपैयाँ बढीको निर्यात हुने सो नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् । तर, जुन उत्साहका साथ नाका सञ्चालन भयो । रातो कार्पेटमा स्वागत गरिएका चारवटा ट्रक बाहेक अरू कुनै पनि गाडी अहिले सो नाकाबाट आवत–जावत भएका छैनन्।

नाका सञ्चालनका लागि दुवै देशको सीमा मितेरी पुलको पुनर्निर्माण ३ महिनामै भयो। नाका सुचारु नहुनुको मुख्य कारण सडक नै हो। ०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किलोमीटर सडकको बिभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम सुरु गरेको डिभिजन सडक कार्यालय चरिकोटले गरिरहेको छ। सुक्खा बन्दरगाह पनि तयार भएको कारोबार अनलाइनले जनाएको छ।

काठमाडौंदेखि ११४ किलोमिटर रहेको सडकमध्ये ९० किलोमिटरसम्म नेपाली पक्षले पुनर्निर्माण गर्ने सहमतिअनुसार डिभिजन सडक कार्यालयले पुनर्निर्माण गरेको छ। ९० किलोमिटर खण्ड सिन्धुपाल्चोकको फुलपिङकट्टी (लार्चा) भन्दा माथि बसेरीसम्म पर्छ। त्यहाँसम्म यातायात सञ्चालनमा कुनै पनि समस्या नहुने डिभिजन सडक कार्यालय चरिकोटका साइड इन्जिनियर गागलकुमार भण्डारीले बताउनुभयो।

तर, बसेरीभन्दा माथि २४ किलोमिटर चिनियाँ पक्षले सडक मर्मत गर्ने सहमतिअनुसार काम भयो। अहिले उतातर्फ ट्रयाक मात्र खोल्ने बाहेक कुनै पनि काम भएको छैन। डाक्लाङको पहिरो लगायतका ठूला–ठूला पहिरो पनि त्यही क्षेत्रमा पर्छ। वर्षात्मा यहाँ पुर्न अवरोध हुने भएपछि भन्सार औपचारिक उद्घाटन गरेर मात्र अहिले बन्द भएको हो। इन्जिनियर भण्डारीले २४ किलोमिटर सडक सुधार गरेर वर्षापछि मात्र सुचारु हुने योजना रहेको बताउनुभयो।

२०७१ सालको जुरेको पहिरो र २०७२ सालको विनाशकारी भूकम्पपछि अरनिको राजमार्गको जुरे, कोठे, बलेफी, जम्बु, सकुवा, डाक्लाङ लगायतको सडक खण्डमा पहिरो तथा बाढीले क्षति पु-याएको थियो। विनाशकारी भूकम्पको कारण नेपाल पट्टी सिन्धुपाल्चोकको बाह्रबिसे, तातोपानी लगायतको क्षेत्र र चिनको लिपिङ, खासामा समेत ठूलो क्षति पुगेपछि तातोपानी नाका बन्द भएको थियो । २०७३ साउनमा आएको बाढीले तातोपानी क्षेत्रमा झन ठूलो क्षति पु-याएको छ।

लार्चामा रहेको सुक्खा बन्दरगाह तयारी भएको छ। भन्सारका सबै चेक जाँच लार्चामै हुन्छ। तर, भन्सारका सबै व्यवस्थापन भइसकेको छैन। वर्षात् सकिएर दसैंको बेलादेखि नाका सुचारु गर्ने भन्सार विभागको योजना छ।

जानकारी तथा लेखहरु