फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

असजिलो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान

(GMT+08:00) 2019-06-18 13:54:44

नेपालको स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान भएको छ। योसँगै आयोजना चाँडै पूरा हुनेतर्फ लागेको नागरिक अनलाइनले लेखेको छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार पाइप जडान गरिएको हो। तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घन्टा लागेको थियो।

तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको हो। अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ। त्यसपछि अर्को पाइप जडान सुरु हुनेछ। तल्लो पेनस्टक साफ्टमा तीन सय ७२ मिटरमा ७४ वटा पेनस्टक पाइप जडान गर्नुपर्ने छ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावरका अध्यक्ष कुलमान घिसिङले बताउनुभयो। 'पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो। यसअघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने/नगर्ने लगायत अन्योल र अनिश्चितता थियो। अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्योल हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,' उहाँले भन्नुभयो, 'पहिलो युनिटबाट (७६ मेगावाट) पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका छौं। यसमा केही तलमाथि हुन सक्ला तर आयोजना आर्थिक वर्ष ०७६/७७ भित्रै सम्पन्न हुनेछ।' उहाँले क्रेनले ६ मिटर प्रतिमिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने बताउनुभयो।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै आउनु भएको छ। उहाँले आयोजनाको आपूmले लिएको जिम्मेवारी छिटो पूरा गर्न निर्देशन दिनु भएको छ। मन्त्री पुनले पछिल्लोपटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिनु भएको थियो।

बैठकमा आयोजनाको अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिबारे विस्तृत छलफल तथा समीक्षा गरिएको थियो। लामाबगरमा रहेको बाँधमा फिनिसिङको सानातिना काम भइरहेको छ। सुरुङ, प्रसारण लाइन निर्माणको काम समानान्तर रुपमा अगाडि बढिरहेको छ। सबै संरचनाहरु निर्माणको अन्तिम चरणमा छन्।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो।

आयोजनाको निर्माण आर्थिक वर्ष ०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो। भूकम्प लगायत कारणले निर्माण प्रभावित भएपछि चालु आव ०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो। तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ समयतालिका तय गरी काम भइरहेको छ। त्यसपछि हरेक महिनाको फरकमा बाँकी पाँच युनिटबाट विद्युत् उत्पादन गरिनेछ।

जानकारी तथा लेखहरु