फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासामा नेपाल लगानी प्रवर्द्धन

(GMT+08:00) 2019-06-19 14:24:46

चीनको स्वायत्त प्रदेश तिब्बतको सदरमुकाम ल्हासामा नेपाल लगानी प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। सोमबार सम्पन्न भएको लगानी प्रवर्द्धन कार्यक्रममा नेपाल लगानी बोर्डका सहसचिव बलराम रिजाल सहभागी हुनु भएको थियो। त्यसैगरी बेइजिङस्थित नेपाली दूताबासबाट मिनिष्टर सुशीलकुमार लम्साल पनि सहभागी हुनु भएको नागरिक अनलाइनले लेखेको छ।

कार्यक्रममा लगानी बोर्डका सहसचिव रिजालले गत मार्चमा सम्पन्न लगानी सम्मेलनबाट नेपाल सरकारले प्रोजेक्ट बैंक बनाएको भन्दै विविध क्षेत्रमा चिनियाँ लगानीकर्तालाई लगानी गर्न आव्हान गर्नुभयो। उहाँले नेपालको लगानी कानुन र अन्य व्यवस्था सहज र सरल भएको भन्दै वैदेशिक लगानीलाई संरक्षण गर्नका लागि सरकार तयार रहेको जानकारी दिनुभयो। नेपालमा अहिले सबैभन्दा धेरै लगानी चीनबाट गइरहेको जानकारी दिँदै रिजालले भन्नुभयो 'नेपालमा राजनीतिक स्थिरता आइसकेकाले आर्थिक मुद्दाहरु प्राथमिकतामा परेका छन्। लगानीकर्ताका लागि यो सबैभन्दा सुनौलो अवसर हो।'

बेइजिस्थित नेपाली दूताबासका मिनिष्टर सुशीलकुमार लम्सालले नेपालमा लगानी गर्दा चिनियाँ व्यवसायीहरुले प्राप्त गर्ने फाइदामाथि प्रकाश पार्दै चिनियाँ व्यवसायीलाई कुनै दुविधा भएमा खुला भएर जिज्ञासा राख्न भन्नुभयो। नेपाल र चीनबीचमा समुधुर सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्ध जनस्तरमा पनि फैलिएकाले चिनियाँ लगानीकर्तालाई नेपालमा व्यवसाय गर्न सहज भएको बताउनुभयो।

सो कार्यक्रममा तिब्बत जनसरकार उपप्रमुख लुवो मईले सम्बोधन गर्दै तिब्बत स्वायत्त प्रदेशका व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो। परापूर्वकालदेखि नै तिब्बत र नेपालबीचमा सुमधुर सम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचका हिमालले आपसी हितलाई अझै चम्काएको बताउनुभयो।

तिब्बत होटलमा आयोजित लगानी कार्यक्रममा तिब्बतका उद्योग तथा व्यापार क्षेत्रका मुख्य र ठूला ४० भन्दा बढी व्यवसायी र १५ जना चिनियाँ सरकारी अधिकारीहरु सहभागी रहेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोबिन्दबहादुर कार्कीले बताउनुभयो। कार्कीका अनुसार महावाणिज्य दूताबासले हरेक वर्ष ल्हासामा नेपाल लगानी प्रवर्द्धन कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्कीले भन्नुभयो 'नेपालमा लगानी वृद्धिसँगै आगामी वर्ष सन् २०२० मा मनाइने नेपाल भ्रमण वर्षलाई घनिभूत रुपमा सफल बनाउन पनि यस प्रकारका कार्यक्रमले टेवा दिने गर्दछ।'

सोमबार बिहान साढे नौ बजे सुरु भएको कार्यक्रम दिउँसो साढे दुईमा सम्पन्न भएको थियो। चिनियाँ व्यवसायीहरुले नेपालमा लगानी गर्नका लागि विभिन्न चासो व्यक्त गर्दै प्रश्न गरेका थिए। गत मार्चमा नेपालमा भएको लगानी सम्मेलनले प्रोजेक्ट बैंक बनाएको जानकारी लगानी बोर्डका सहसचिव रिजालले राखेपछि तिब्बती व्यवसायीहरुको चासो बढेको थियो। तिब्बतका विभिन्न क्षेत्रका व्यवसायीहरु सहभागी भएको कार्यक्रममा नेपालमा विशेषगरी कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, सेवा, जडीबुटी लगायतका क्षेत्रमा लगानी गर्नका लागि चासो व्यक्त गरेको कार्कीले बताउनुभयो।

जानकारी तथा लेखहरु