फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भारत पेट्रोलियम पाइपलाइन परीक्षण सुरु

(GMT+08:00) 2019-06-19 14:27:27

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप बिछ्याउने काम सकिसँगै यसको परीक्षण (टेस्टिङ) सुरु भएको छ। पाइप बिच्छ्याउने काम सकिएसँगै परीक्षण सुरु गरिएको नेपाल आयल निगमले जानकारी दिएको कारोबार अनलाइनले लेखेको छ।

अहिले पाइपलाइनको हाइड्रो टेस्टिङ भइरहेको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो। विशेषगरी यसमा लिकेज छ कि छैन, नट जडानहरू राम्रोसँग भएको छ कि छैन भन्ने कुराको परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो। पाइपलाइनको परीक्षण गर्न एक महिनासम्म लाग्ने उहाँको भनाइ छ। पाइपलाइनसम्बन्धी प्राविधिक ज्ञान लिनका लागि निगम कर्मचारी भारतको लखनउ गएका छन्। परीक्षणपश्चात् पाइपलाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ।

भारतको मोतीहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी)को ऋण सहयोगमा निर्माण भइरहेको पाइपलाइनको पहिलो चरणअन्तर्गत पाइप बिछ्याउने काम सकिएको हो। मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ। भारततर्फ मोतीहारीदेखि रक्सोलसम्म ३२.६५ किलोमिटर छ।

नेपालतर्फ रक्सोलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ। यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको हो। नेपालतर्फ ३.६ किलोमिटरमा ड्रिलिङ गरेरसमेत पाइप राखिएको छ। परवानीपुरमा २ किलोमिटर र जितपुरमा १.६ किलोमिटर बजार क्षेत्रमा ८ देखी १६ मिटरसम्म जमिनुमनि ड्रिलिङ गरी पाइप बिछ्याइएको छ। बाँकी ठाउँमा सिमेन्टको क्यानल बनाएर पाइप राखिएको छ।

पाइपलाइन परीक्षणका लागि निगमका कार्यकारी निर्देशक सरेन्द्रकुमार पौडलसहितका प्रतिनिधि सोमबार अमलेखगञ्ज गएका छन्। निर्माण सम्पन्न भएपछि अब व्यवस्थापनको काम अघि बढाइने भएको छ। सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडान तथा परीक्षण, भण्डारणको निर्माणको काम सम्पन्न हुने निगमले जनाएको छ। असार १५ गतेसम्म निर्माण कार्यका सम्पूर्ण काम सम्पन्न भइ पाइपबाट तेल ल्याउने तयारी गरिएको प्रवक्ता गोइतको भनाइ छ।

परीक्षणपछि तेल ल्याउने मिति नेपाल र भारतबीचको छलफल र समझदारीबाट तय गरिने भएको छ। अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणका लागि संरचना निर्माण अन्तिम चरणमा छ। १ लाख किलोलिटरका दुई र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्यांकी तयारी अवस्था रहेको निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) र निगमको संयुक्त लगानीमा निर्माण भएको छ। भारतको २ अर्ब र निगमको ७५ करोड भारु लागतमा सम्पन्न सो परियोजना सम्पन्न भएको हो। पाइपलाइनबाट तेल आयात गर्दा वार्षिक रूपमा झन्डै २ अर्ब रुपैयाँ बचत हुनेछ। बरौनी र रक्सोल नाकाबाट इन्धन ढुवानी गर्दा अहिले २ अर्ब ३५ करोड लागत लाग्ने गरेको छ। पाइपलाइनबाट तेल ल्याउँदा ढुवानीबापतको २ अर्ब रुपैयाँ बचत हुनेछ। साथै ढुवानी खर्च वचत भएपछि उपभोक्ताले सस्तो मुल्यमा तेल पाउनेछन्। रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रतिलिटरमा ६० पैसा कम हुने गर्छ। तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ भदौ ७ मा पेट्रोलियम पाइपलाइन परियोजनाको सम्झौता भएको थियो।

जानकारी तथा लेखहरु