फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घडियाल गोहीको अण्डाबाट १५१ बच्चा कोरलिए

(GMT+08:00) 2019-06-19 14:29:58
राप्ती र नारायणी नदीमा सङ्कलन गरिएका घडियाल गोहीको अण्डाबाट १५१ बच्चा कोरलिएका छन्। चितवन राष्ट्रिय निकुञ्जले दुई नदीमा रहेका २४ मध्ये १० गुँडबाट २८४ अण्डा सङ्कलन गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार राप्ती नदीका १६ गुँडमध्ये १० लाई छाडेर छ अण्डा सङ्कलन गरिएको थियो। नारायणी नदीमा भेटिएका आठ गुँडमध्ये चारको अण्डा सङ्कलन गरिएको थियो।

राप्ती नदीबाट सङ्कलन गरिएका १७१ अण्डामध्येबाट ९० बच्चा कोरलिएको हो। नारायणीका चार गुँडमध्ये एउटामा भाले नलागेको अण्डा भेटिएको र बाँकी तीन गुँडका ११३ अण्डाबाट ६१ बच्चा कोरलिएको खड्काले जानकारी दिनुभयो।

गोहीले चैत महीनामा अण्डा पार्न शुरु गर्ने गर्दछ। खड्काका अनुसार ७० देखि ७५ दिनमा अण्डाबाट बच्चा कोरलिन्छ। निकुञ्जले नदीमा सङ्कलन गरेको अण्डा कसरामा रहेको प्रजनन केन्द्र परिसरमा बालुवामा राख्ने गर्दछ। राप्ती र नारायणी नदीमा भालेको अभाव देखिएको छ।

दुई वर्षअघि नदीको भाले गोही मरेपछि बर्दियाबाट एक भाले गोही ल्याइएको थियो। हाल नदीमा तीन भाले मात्र रहेको खड्काले जानकारी दिनुभयो। गत वर्ष राप्ती नदीबाट सात र नारायणीबाट दुई गुँडका गरी ३१७ अण्डा सङ्कलन गरिएको थियो। जसबाट १६४ बच्चा कोरलिएको थियो।

प्रजनन केन्द्रमा हाल साना ठूला गरी ४७० गोही रहेका छन्। यसै वर्ष त्यहाँ हुर्किएका १०० गोहीलाई राप्तीमा छाडिएको छ। प्रजनन केन्द्रमा माउले बच्चा कोरल्ने भएकाले तथ्याङ्क सङ्लकन भइनसकेको खड्काले बताउनुभयो। प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा एक हजार ४६५ गोही छाडिसकिएको छ। जसमध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ। नदिहरुमा गोही छोड्दै गए पनि संख्या बढ्दै जान भने सकेको छैन। पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्। नदी प्रदुषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ। हरेक वर्ष यी दुई नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ।

जानकारी तथा लेखहरु