फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआईले विश्वव्यापी महत्त्व बोकेको नेपालका परराष्ट्रमन्त्रीको भनाइ

(GMT+08:00) 2019-06-21 13:47:56

चीनले अगाडि सारेको बीआरआई अन्तर्गत बेल्ट एन्ड रोड फर डेभलपमेन्ट एन्ड प्रोस्परिटी अफ साउथ एसिया नारासहित द बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईको चौथो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौँमा सुरु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

दक्षिण एसिया, अफ्रिका र युरोपका १५० बढी मुलुकलाई विकासको बाटोमा डोर्‍याउने उद्देश्यसहित यो सम्मेलन सुरु भएको हो। सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले बीआरआईको अवधारणा ल्याउनुभएको थियो। नेपाल र चीनबीच सन् २०१७ मा यस अवधारणामा सम्झौता भएको थियो।

यस अवधारणाअनुसार उच्च गुणस्तरीय, दिगो, जोखिममुक्त र समयसापेक्ष मूल्यमा विकासका पूर्वाधार निर्माण गर्न चीनले प्रतिबद्धता जनाएको छ। नेपाल चाइना फ्रेन्डसिप फोरमको आयोजनामा सुरु भएको सम्मेलनले नीति निर्माता, विशेषज्ञ, अध्ययनकर्ता, निजी क्षेत्र र अन्य सम्बन्धित सरोकारवालालाई एकैथलोमा भेला पारेर दक्षिण एसियाली मुलुकका लागि अवसर पहिचान गर्ने उद्देश्य बोकेको छ।

सम्मेलनको उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्माण र कामगराइमा सहकार्यको भावना बीआरआईले बोकेको बताउनुभयो। उहाँले विश्वव्यापी महìव बोकेको बीआरआईले शान्तिका लागि सडकलाई समृद्धिको आधार बनाएको बताउनुभयो।

"व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा यो महìवपूर्ण छ," उहाँले थप्नुभयो, "विकासमा रहेको वित्तीय र प्राविधिक दूरी छ, त्यो घटाउन मद्दत गर्छ। " दक्षिण एसियासँगै नेपालको राष्ट्रिय योजना निर्माणमा बीआरआईको महìव रहेको उहाँले स्पष्ट पार्नुभयो। समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यसँग सडक जोडिएको भन्दै उहाँले थप्नुभयो, "ढुवानीमा नेपालजस्तो भूपरिवेष्टित देशले २० प्रतिशत अतिरिक्त शुल्क तिर्नु परिरहेको छ। त्यो घटाउन यसले सघाउँछ।"

मन्त्री ज्ञवालीले नेपाल–चीन द्विपक्षीय सम्बन्ध सेतुका रूपमा रेलमार्ग, राजमार्ग, हवाईमार्ग र ढुवानी क्षेत्रको विस्तार रहेको उहाँले प्रस्ट्याउनुभयो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दक्षिण एसियाली मुलुकबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा यो सम्मेलन महत्वपूर्ण रहेको बताउनुभयो। नेपाल र चीनबीच बहुआयामिक विकास सञ्जालमा काम भएसँगै सीमा वारपार रेलको अवधारणामा समेत काम भइरहेको जानकारी दिनुभयो। आतङ्कवाद, आर्थिक समस्या, गरिबीलगायत विभिन्न कारणवश विकास हुन नसकेको देशका लागि बीआरआईको सञ्जाल एउटा सहयोगी हात हुने उहाँले दाबी गर्नुभयो।

प्रमुख टिप्पणीकर्ताका रूपमा बङ्गलादेशका सांसद हसनाउल हक इनुले बीआरआईले दक्षिण एसियाली मुलुकमा निर्वाह गर्ने भूमिकाका बारेमा प्रस्ट्याउनुभयो। उहाँले विश्वको शक्ति पश्चिमबाट एसियातर्फ मोडिँदै गएको भन्दै अब एसिया उदाउने बेला आएको बताउनुभयो।

एसिया इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क स्थापना हुनुले पनि बीआरआइमार्फत एसियाली मुलुकको विकासमा साझेदारी गर्न सकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ।

आयोजकका तर्फबाट फोरमका अध्यक्ष डा कल्याणराज शर्माले नेपालमा भएको यस सम्मेलनले विश्वकै ठूलो सञ्जाल निर्माण, विश्वव्यापी आर्थिक व्यवस्थाको सिर्जना, रोजगारी सिर्जना, सामुदायिक एकता र सीमान्तकृत समाजको उन्नतिमा सघाउने जनाउनुभयो। विभिन्न सत्रमा हुने छलफलले बहुआयामिक विकासको मार्ग पहिचान हुने उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्करप्रसाद शर्माले दुई शक्तिशाली मुलुकबीच रहेको नेपालमा सन् २०१५ मा भारतले गरेको नाकाबन्दीपछि यो सञ्जालमा सामेल हुनुपर्छ भन्ने धारणा बोकेको बताउनुभयो। तथापि यस सञ्जालले भारतलाई समेत चीन र अन्य मुलुकसँगको सम्बन्ध विकास गर्न सघाउने उहाँको भनाइ छ।

शुक्रबारसम्म चल्ने सम्मेलनका विभिन्न सत्रमा नेपाल, भारत, चीन, फिलिपिन्स, लाओस, बङ्गलादेशलगायत देशका विशेषज्ञ तथा सरोकारवाला छलफलमा सामेल हुनुभएको छ।

जानकारी तथा लेखहरु