फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढीको सुरुङ्गमा थुनिएका चिनियाँ सहित सबै कामदारको सकुशल उद्धार

(GMT+08:00) 2019-06-21 14:06:15

नेपाल र चीनको सीमा नजिक रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ। नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान ७ बजेसम्म ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भागेन्द्रप्रसाद ढकालले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँले सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक नलागेको र उद्धार पछि आफ्नो क्वाटरमा आराम गरी रहेको बताउनुभयो। उहाँले आफू सहितको टोली घटनास्थलमा रहेको र सुख्खा पहिरो खस्ने क्रम जारी रहेको बताउनुभयो। बाहिरी भागमा पहिरो खसेकाले सुरुङ्गमा धेरै ठूलो भौतिक क्षति नभएको समेत जानकारी दिनुभयो।

गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र बिहीबार राति सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए।

जानकारी तथा लेखहरु