फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा होटलमा लगानी गर्ने आधा चिनियाँ

(GMT+08:00) 2019-06-21 14:08:04
नेपालमा चिनियाँ पर्यटक आगमन बढेपछि चिनियाँहरुले होटलमा लगानी बढाएका छन्। चालु वर्षको वैशाखसम्ममा अनुमति लिएका होटलमा आधा चिनियाँ लगानीका छन्। उद्योग विभागका अनुसार यो वर्ष ८४ वटा होटल खोल्न विदेशी लगानीकर्ताले अनुमति लिएका छन्। तीमध्ये ४० वटा चिनियाँ लगानीकर्ताको रहेको विभागले जनाएको नागरिक अनलाइनले लेखेको छ। करिब आठ सयजनालाई रोजगारी दिने र ५८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित अनुमति लिएको विभागले जनाएको छ।

होटल एसोसिएसन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा चिनियाँ पर्यटकको आगमन बढेकाले नै चिनियाँहरु होटलमा लगानी गर्न आकर्षित भएका हुन्। 'नेपाल आउने चिनियाँ पर्यटकको संख्या बर्सेनि बढिरहेको छ,' उपाध्यक्ष शाहले भन्नुभयो, 'यहाँ व्यापार गर्दा फाइदा हुने देखेर होटलमा लगानी गर्न आकर्षित भएका हुन्।' विगतमा सरकारले ५० लाख रुपैयाँसम्म वैदेशिक लगानी गर्न अनुमति दिएकाले पनि साना लगानीका होटल, रेस्टुरेन्ट चिनियाँले धेरै खोलेका हुन्।

चिनियाँहरुले काठमाडौंको ठमेलमा मात्र करिब एक सय हाराहारी रेस्टुरेन्ट र होटल खोलेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार वार्षिक करिब सवा लाख चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्छन्। यो वर्ष सरकारले प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) ल्याएपछि मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा विदेशी लगानीको न्यूनतम सीमा ५० लाखबाट बढाएर पाँच करोड रुपैयाँ पुर्‍याएको छ। चिनियाँ जनस्तरमै नेपालप्रतिको आकर्षण बढेकाले लगानी बढ्नु स्वाभाविक भएको जानकार बताउँछन्।

आगामी दिनमा भने विदेशीले पाँच करोड रुपैयाँभन्दा कम लगानीको उद्योग, व्यवसाय सञ्चालन गर्ने अनुमति पाउँदैनन्। चीनसँग सडक 'कनेक्टिभिटी' हुने हो भने चिनियाँ पर्यटक आगमन अझै उच्च हुने शाहले बताउनुभयो। 'तातोपानी र रसुवाबाट अहिले सामानमात्र आयात भइरहेको छ,' उहाँले भन्नुभयो, 'ती सडक यातयातका लागि सहज बनाए पर्यटक आगमन अझै बढ्नेछ।'

वार्षिक रुपमा १७–१८ करोड चिनियाँ विदेश घुम्न निस्किने भएकाले त्यसको सानो हिस्सा नेपाल ल्याउन सके पनि पर्यटन क्षेत्रले फड्को मार्ने उहाँले बताउनुभयो। साना लगानीका होटल तथा रेस्टुरेन्टमात्र नभएर ठूला होटलमा लगानी गर्न पनि चिनियाँ व्यवसायी उत्साहित छन्। साना मात्र नभएर अर्बौं रुपैयाँ लगानी गर्ने प्रस्ताव लगानी बोर्डमा गरेका छन्। डेढ साताअघि नेपाल सरकारले चीनको सिल्क रोड इन्टरनेसनल होल्डिङ कोअपरेसन लिमिटेडलाई लुम्बिनीमा स्टार होटलसहित विश्व बुद्धिस्ट प्रदर्शनी पार्क निर्माण तथा सञ्चालनका लागि अध्ययन अनुमति दिएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार उक्त परियोजनाका लागि करिब दुई सय अर्ब रुपैयाँ लाग्ने लगानीकर्ताले प्रारम्भिक जानकारी गराएका छन्।

नेपालमा होटलमा लगानी गर्नेमा चिनियाँपछि अमेरिका, जापानलगायत मुलुकका लगानीकर्ता छन्। ती सहित दक्षिण कोरिया, सिंगापुर, रसिया, फ्रान्स, जर्मनी, युक्रेनका लगानीकर्ताले पनि होटलमा लगानी गर्न अनुमति लिएका हुन्। नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारती र दोस्रोमा चिनियाँ छन्। पछिल्लो समय होटलमा विदेशी लगानी बढिरहेको छ। २०७२ यता मात्रै एक खर्ब रुपैयाँभन्दा बढी होटलमा वैदेशिक लगानी आएको हानले जनाएको छ। अहिले मुलुकमा तारे होटलको संख्या एक सय ३६ पुगेको छ। पाँचतारे होटल ११, चारतारे ६ र तीनतारे ३५ वटा दर्ता भएको उद्योग विभागले जनाएको छ। दुई र एकतारे पनि छन्। धेरै होटल निर्माणाधीन छन्। कतिपय निर्माणको अन्तिम चरणमा रहेका छन्। काठमाडौंमात्र नभएर राजधानीबाहिर पनि फाइभ स्टार होटल विस्तार गरेका छन्। चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, महेन्द्रनगर, धरान लगायत सहरमा होटल खुलेका हुन्। करिब २५ लाख पर्यटक धान्न सक्ने होटलको क्षमता पुगेको हानको दाबी छ। पर्यटन बोर्डका अनुसार होटलका करिब ४८ हजार कोठा पर्यटक स्तरीय छन्।

चिनियाँले होटलमा मात्र नभएर अन्य उद्योग–धन्दामा पनि लगानी बढाएका छन्। अर्थ मन्त्रालयले सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार यो वर्षको फागुनसम्म विदेशी लगानीको स्वीकति पाएका कुल उद्योग संख्याको आधारमा चीनको अंश ३१.१ प्रतिशत र लगानीको अंश ३९.८१ प्रतिशत छ। चिनियाँ लगानीकर्ताले एक हजार चार सय ६२ उद्योग तथा परियोजनामा लगानी गर्न अहिलेसम्म एक खर्ब ११ अर्ब ४५ करोड रुपैयाँको स्वीकृति लिएका छन्। चिनियाँ लगानीबाट ६७ हजार ६ सय ४५ जनाले रोजगारी पाउने विभागले जनाएको छ।

जानकारी तथा लेखहरु