फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा २ महिनामा देशभर विपदबाट ६९ जनाको मृत्यु

(GMT+08:00) 2019-06-22 14:22:21

कमजोर भू-धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण नेपालभर विपद्का घटनामा वृद्धि भएको छ। वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका नेपाल खबर अनलाइनले लेखेको छ।

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट १०, पहिरोबाट ४, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट ७, महामारीबाट १, हावाहुरीबाट ८, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट ३ जनाको मृत्यु भएको हो। नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीका अनुसार आगलागीबाट ३५, पहिरोबाट २, चट्याङ लागेर १२८, विभिन्न जनावरको आक्रमणबाट ३२, हावाहुरीबाट १४१, हिमपहिरोबाट १ र अन्य विपद्का कारण ४ जना घाइते भएका छन्।

दुई महिनामा आगलागीबाट ९९ करोड ३४ लाख ९१ हजार, बाढीका कारण रु एक करोड ९७ लाख, पहिरोबाट १३ लाख ४५ हजार, चट्याङबाट २३ लाख १४ हजार, जनावरको आक्रमणबाट रु चार लाख ४० हजार र हावाहुरीबाट ४ करोड ९० लाख २४ हजार बराबरको क्षति भएको छ।

विसं २०७५ वैशाखदेखि चैतसम्म विपद्का कारण ३८८ जनाको मृत्यु हुनाका साथै १ हजार ३०५ जना घाइते र १० जना बेपत्ता भएका छन्। यस्तै ३ हजार १७५ पशुचौपाया मरेका छन् भने २ हजार ५१६ घरमा क्षति पुगेको छ। पाँच सय ९ परिवार विस्थापित तथा २ अर्ब ५१ करोड १ लाख २७ हजार बराबरको क्षति भएको छ।

प्राकृतिक एवम् भौगर्भिक कारणले पनि ठूला-ठूला पहिरा जाने गरेका छन्। चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरो जाने क्रम वृद्धि भएको हो। मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम छ।

जानकारी तथा लेखहरु