फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब पाठ्यक्रममा योग विषय राखिने

(GMT+08:00) 2019-06-22 14:22:44

नसर्ने रोग रोकथाममा योगको प्रभावकारिता बढेसँगै मानिसहरू योगप्रति आकर्षित हुन थालेका छन्। योगको व्यापकसँगै सरकारले पाठ्क्रममा पनि योग विषय राख्ने तयारी भएको गोरखापत्र अनलाइनले लेखेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नसर्ने रोगको जोखिम घटाउन योग अनिवार्य भएको बताउनुभयो। उहाँले सरकारले योग प्राकृतिक चिकित्सा, आयुर्वेदलाई विशेष महत्व दिएर विद्यालय तहको पाठ्यक्रममा नै योगसम्बन्धी विषय समावेश गर्न लागिएको जानकारी दिनुभयो।

योगसम्बन्धी पाठ्यक्रम साउनसम्म पूरा भइसक्ने जानकारी दिँदै उहाँले गोरखापत्रसँग भन्नुभयो, "सम्भवतः आउँदो शैक्षिक सत्रदेखि योग, आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी अध्ययन हुने छ। " उहाँले विद्यालय पाठ्यक्रम मानिसको जीवनशैली परिवर्तन गर्ने खालको आउने भन्दै विद्यालयस्तरदेखि नै जीवनशैलीबारे ख्याल राख्ने हो भने नसर्ने रोगको जोखिम घटाउन सकिने बताउनुभयो। पछिल्लो समय मानिसको जीवनशैली परिवर्तन हुँदा मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला रोगजस्ता जटिल रोगले सताउन थालेको छ।

पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रम तयार पार्न निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, "योग, आयुर्वेद, प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरी काम भइरहेको छ। " शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलको संयोजकत्वमा योग, आयुर्वेद र प्राकृतिक चिकित्सा विषय पाठ्यक्रममा समावेश गर्नलाई कार्यदलसमेत गठन गरेको छ।

मन्त्री पोखरेलले उक्त पाठ्यक्रम नौ देखि १२ कक्षासम्मका विद्यार्थीलाई केन्द्रित गरेर ल्याउन लागिएको जानकारी पनि दिनुभयो। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले दैनिक १५ मिनेट मात्र योग गर्न सके स्वस्थ जीवनयापन गर्न सकिने बताउनुभयो।

उहाँले पछिल्लो समय नेपालीहरू योग गर्नप्रति इच्छुक रहेको जानकारी दिँदै योगप्रति बालबालिकादेखि वृद्धसम्म आकर्षित हुन थालेको बताउनुभयो। योगले सम्पूर्ण अङ्ग तथा कोषलाई समेत स्वस्थ बनाउने उहाँको भनाइ छ।

शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुने भएकाले बिनाखर्च शरीरलाई स्वस्थ राख्न योग आवश्यक भएको उहाँको धारणा थियो। "योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा श्वासप्रश्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ र त्यसैबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हुने गर्दछ", उपाध्यायले भन्नुभयो।

मनोक्रान्ति अभियानका महासचिव तथा इन्द्र–अन्नपूर्ण योग केन्द्रका प्रमुख डा. सुवास घिमिरेले पछिल्लो समय मानिसमा योगप्रति चासो बढ्दै गएको बताउनुभयो। उहाँले नेपालमा बढ्दो सहरीकरण र खानपानले नसर्ने रोगको जोखिम बढ्दै गएका कारण त्यसलाई नियन्त्रण गर्न योगको महŒव हुने जानकारी दिनुभयो।

विद्यालयस्तरदेखि विद्यार्थीलाई योगबारे जानकारी गराई योग सिकाउनुपर्ने भन्दै उहाँले त्यसका लागि पाठ्यक्रममा योग विषय राख्नुपर्ने बताउनुभयो। हालसम्म नेपालमा झन्डै पाँच सयभन्दा बढी योग केन्द्र रहेका छन्।

जानकारी तथा लेखहरु